काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दसैँ अगाडिसम्म सबै दुग्ध किसानहरूको बक्यौताको भुक्तानी गर्ने भएको छ ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दसैँ अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् ।
उनले भने,‘दुग्ध किसानले पाउनुपर्ने बक्यौताको उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तीमा भदौ महिनाभित्र नत्र दसैँ अगाडिसम्म सबै किसानहरूले विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी गरिसक्ने विश्वास दिलाउन चाहन्छु ।’
किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए । मन्त्री अधिकारीले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दसैँ अगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाई छ ।
उनले भने,‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ । दसैँ अगाडि नै रकम उपलब्ध गराउने गरी मन्त्रालयले गृहकार्य थालिसकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौँ ।’
उनले सधैँ उधारो दूध किसानबाट लिने नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दीर्घकालीन रूपमा समाधनका लागि पहल गरिरहेको उनले ेजानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया