ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी

लोकपथ
224
Shares

काठमाडौं । ईशान बाल तथा महिला अस्पतालले सेवा दिँदै आएको आज (१० भदौ) २९औँ वर्ष पूरा भएको छ । लामो समयदेखि निरन्तर सेवा दिँदै आइरहेको यस अस्पतालले अस्पतालकै प्रागणमा आज सोमबार विभिन्न कार्यक्रम आयोजना गर्दै अस्पतालको २९औँ वार्षिकोत्सव मनाइरहेको छ ।

यही अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा. रामनन्दनप्रसाद चौधरीले यस अस्पतालले बाल शल्यक्रियामा निकै सफलता हात पारेको बताए । उनले स्वदेशबाट मात्र नभएर विदेशबाट समेत आएका बालबालिकाको सफल शल्यक्रिया गरिएको बताए ।

१५ शय्याबाट सुरु भएको यस अस्पतालमा अहिले बालबालिका तथा महिला उपचारमा चौबीसै घन्टा आकस्मिक सेवा, जटिल किसिमको शल्यक्रियासहित विशेष सेवा उपलब्ध रहेको र शनिबारसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध रहेको जानकारी दिए । टोखा नगरपालिका–५ मा अवस्थित यस अस्पतालले टोखा नगरपालिका–५ का बासिन्दालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । छुट सुविधाका लागि केही असजिलो नहोस् भन्ने हेतुले अस्पतालले त्यहाँका बासिन्दाहरुको लागि छुटसम्बन्धी छुट्टै कार्ड समेत बनाइदिएको डा. चौधरीले बताए ।

यसका साथै अस्पतालले विभिन्न संघसंस्था, बैंक, इन्स्योरेन्स तथा विद्यालयसँग पनि एमओयू गरी विशेष छुट दिई गुणस्तरीय सेवा प्रदान गर्ने गरेको छ । नेपालकै पहिलो गैरसरकारी बाल अस्पाताल ईशानले बाल, महिला तथा वयष्क स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उल्लेखनीय सुधार तथा थप नयाँ आधुनिक उपकरणहरु उपलब्ध गरी सम्पूर्ण बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक र भरपर्दो सेवा सुविधा प्रदान गरिरहेको छ । हाल अस्पतालमा ८७ जना विभिन्न विषयका वरिष्ठ विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयहरुका super specialty तथा Multispecialty विशेषज्ञ सेवाहरु उपलब्ध पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?