टुँडिखेलमा ओलीविरुद्ध नाराबाजी, कड्किँदै देउवाले भने– ‘लाज छैन बदमासहरु’

लोकपथ
1.6k
Shares

काठमाडौं । सुदूरपश्चिमको महान पर्वको रुपमा मानिने गौरापर्वका अवसरमा आयोजित कार्यक्रममा नाराबाजी भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित बनेका छन् ।

सोमबार अपरान्ह टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितीमा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । केही युवाहरुको समूहले तल नाराबाजी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रम बिथोल्न खोजिएको भन्दै आक्रोशित बने । उनले नेपालीहरुको चलन यस्तो नहुने भन्दै कड्किए ।

‘तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने ?,’ सभापति देउवाले भने, ‘यही हो नेपालको चलन ? बदमासहरू !’

तर प्रधानमन्त्री ओली भने केही संयमित देखिएका थिए ।

प्रधानमन्त्री ओलीले गौरा पर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।

नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीको भनाइ छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?