काठमाडौं । सुदूरपश्चिमको विशेष चाडको रुपमा रहेको गौरा पर्वले हरेक वर्ष काठमाडौंको टुँडिखेल जुर्मुराउने गर्दछ ।
प्रधानमन्त्रीदेखि मन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरु त्यहाँ पुग्ने गर्छन् । राजनीतिक रुपमा एकअर्कामा व्यंग्यबाण र कटाक्ष गर्ने नेताहरुलाई देउडाको एउटै साङ्लोले बाध्ने गर्दछ ।
सोमबार पनि गौरा पर्वले टुँडिखेल भरिभराउ थियो । प्रमुख अथितिका रुपमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लाग्यो । कार्यक्रमको बिचबाट एक हुल युवाले ‘ओली चोर देश छोड’ ‘ओली तेरो पाराले दुख पाए साराले’ लगायत देशको कार्यकारी प्रधानमन्त्रीमाथि नारा लगाए । सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्यमसम्म त्यसको विरोध भइरहेको छ । हुन त पछिल्लो समय मित्रराष्ट्र बंगलादेशको सत्ता उलटफेरका कारण नेता र नेतृत्वप्रति कटाक्ष गर्ने प्रवृत्ति बढ्दो छ ।
उक्त कार्यक्रममा आफैँमाथि नारा लाग्दा पनि ओलीले त्यसमा त्यति कटाक्ष गरेनन् । उनले अराजकता नेपालको लागि राम्रो नहुने भन्दै संयमता अपनाउन आग्रह गरे । साथै नेपाली समाजलाई बिथोल्ने गतिविधि सैह्य नहुने बताए । उनले गौरापर्वको शुभकामना दिँदै मर्यादा र शिष्टता नभएको भन्दै कटाक्ष गरे । प्राय लामो समय लिएर विभिन्न उखान टुक्का ल्याएर माहोललाई थप रोमान्चक बनाउने प्रधानमन्त्री ओलीले तुलनात्मक रुपमा केही मन्तव्य छोट्टयाए ।
उनले हिंशा भड्किएका विभिन्न देशप्रति लक्षित गर्दै नेपाली समाज नबिथोलिने र नभाँडिने बताए ।
‘नेपाली समाज जति बिथोल्न खोजे पनि जति भाँड्न खोजेपनि, नेपाली समाज बिथोलिन पनि मान्दैन, भाँडिन पनि सक्दैन,’ प्रधानमन्त्री ओलीले अघि भने, ‘हाम्रो नयाँ पिढिमा नयाँ पुस्तामा हाम्रो सिस्टता कस्तो हो ? सभ्यता कस्तो हो ? मर्यादा कस्तो हो भन्ने कुरा बिर्सिन खोजेको देख्दा अचम्म पनि लाग्छ । यस्तै घटनाहरु विभिन्न ठाउँहरुमा पनि देखिने गरेका छन् । अरुका कार्यक्रमहरुमा डिस्टर्ब गर्ने प्रवृत्ति देखिन थालेका छन् । म आग्रह गर्न चाहान्छु, यो नेपालीपन होइन ।’
तर कार्यक्रममा पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने ती नाराबाजी गर्ने युवासँग नराम्ररी झोक्किए ।
उनले कार्यक्रम भाँड्न खोजेको भन्दै जनताले ठिक पार्ने भन्दै युवाहरुमाथि खनिए ।
‘लाज पनि छैन ? अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, अर्काको कार्यक्रम बिथोल्ने लाज पनि छैन ? यही हो तिमिहरुको संस्कृती? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरु । आदरणीय दाजुभाई दिदिबहिनीहरु । यस्तै छ, यहाँ गौरा पर्व सुन्न आएका धेरै साथीहरु छन्, देउडा खेल्न आएका धेरै साथीहरु छन् । यहाँ गौरा पर्वको कुरा सुन्न दिँदैनन् । न देउडा खेल्न दिन्छन्, यस्ता अर्काको कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन्,’ सभापति देउवाले भने ।
याे पनि
टुँडिखेलमा ओलीविरुद्ध नाराबाजी, कड्किँदै देउवाले भने– ‘लाज छैन बदमासहरु’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया