रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गत आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
पहिरोमा परी चार घर बगाउँदा बेपत्ता भएका १० मध्ये आज बुधबार बिहानसम्म आठ जनाको शव फेला परेको रामेछाप प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले बताए ।
उनले पछिल्लो पटक एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएको र त्यसबारे अनुसन्धान गर्दा नङ पालिस लगाएको बांगो औंलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताए । घटना भएकै दिन ६ जना र त्यसपछि अर्का एक जनाको शव फेला परेको थियो ।
उक्त पहिरोमा सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया