अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त

लोकपथ
420
Shares

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई बुधबार प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने उल्लेख छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य शवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् ।

सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि बिदा बस्ने परम्परा अनुसार शर्मा बिदामा बसेपछि सिग्देलले कायममुकायमको जिम्मेवारी सम्हालेका थिए ।

प्रधानसेनापतिमा नियुक्त सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फेन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।

कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उनले काम गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाएका छन् ।

उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन् ।

सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन् । संगठनको उन्नयनमा उत्कृष्ट योगदान पु-याएबापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’ समेत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?