काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका–४ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३५ वर्षीय सुमन थापा र कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–७ पशुपती बस्ने ४० वर्षीय कन्नजित राउत रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले देव र भिमलाई कञ्चनपुरको गड्डाचौकीबाट, सुमनलाई काठमाडौंको टोखाबाट र कन्नजितलाई काठमाडौंको पशुपतिबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने मध्येमा देव र भीमले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रूपैयाँ, सुमनले १ जना पीडितबाट १२ लाख रूपैयाँ र कन्जितले १ जना पीडितबाट ३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रहरीको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
पक्राउ पश्चात उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया