काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली प्रहार गरी हत्या गर्ने संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गर्दै स्थानीय प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गर्दै उनको पहिचान भने खुलिनसकेको जनाएको छ । प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ ।
ती संदिग्ध व्यक्ति मृतक पाण्डे बस्ने गरेको अपार्टमेन्टबाट बाहिरिँदै गरेको सीसीटीभी फुटेजमा देखिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।
सीसीटीभी फुटेजअनुसार भोजपुरकी पाण्डे मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ ।
गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो । उनी शनिबारदेखि सम्पर्कविहीन रहेकी थिइन् । ती संदिग्ध व्यक्ति पाण्डे प्रेम सम्बन्धमा रहेको भनिएका अमेरिकी युवक नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ ।
पाण्डेकी आमा अनिताले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन् । आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन् । प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ ।
नेपालिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीनवटा गोली लागेको थियो र उनी ओछ्यानमा टाउको तल पारेर पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् । उनले भनेका छन्, ‘अनुसन्धानबाट यो कसरी भयो भन्ने कुरा थाहा हुनेछ ।’
पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । सुरुमा साथीसँग बस्ने गरेकी उनीे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया