सर्वोच्चले अन्तरिम आदेश नदिएको भोलिपल्टै रिट निवेदक डीआईजी र एसएसपीको सरुवा

जहिले पनि आकर्षक ठाउँ पाउने यी हुन् भाग्यमानी एसएसपी

लोकपथ
812
Shares

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद खारेजीको माग गर्दै डीआईजी अभिकुमार खत्रीसहितका तर्फबाट दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको भोलिपल्टै गृह मन्त्रालयले रिट निवेदकहरुको सरुवा गरेको छ ।

३० वर्षे सेवाहद खारेजीको माग गर्दै डीआईजीद्वय अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई र एसएसपी विश्वकुमार भट्टराईसहित १२ जनाले रिट दायर गरेका थिए ।

रिट दायर गर्नेमध्ये डीआईजी खत्रीलाई नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट मानवस्रोत विभाग र अर्का डीआईजी भट्टराईलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार सरुवा गरिएको छ । उनीहरुले जिम्मेवारी बहन गर्दै आएको ठाउँमा क्रमशः प्रदीपकुमार पाल र सुरेशकुमार श्रेष्ठलाई पठाइएको छ ।

यस्तै, एसएसपी भट्टराईलाई सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, नवलपरासीबाट सीमा सुरक्षा विभाग सरुवा गरिएको छ । भट्टराईको ठाउँमा शंकर खनाललाई पठाइएको छ । यद्यपि, यो नियमित सरुवा हो । यी कार्यालयमा उनीहरुले जिम्मेवारी सम्हालेको एक वर्ष पुगिसकेको छ ।

सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट आकर्षक शिक्षालय मानिन्छ । यो ठाउँमा जान एसएसपीहरुले मरिहत्ते नै गर्छन् ।
सो कार्यालयमा समादेशकको जिम्मेवारी पाएका एसएसपी खनाल सिसं २ इन्सपेक्टर बेसिकका हुन् । इन्सपेक्टरको रोलक्रममा अन्तिम अन्तिम नम्बरमा रहेका उनलाई एसपी बढुवामा शक्तिकेन्द्रको प्रयोग गरी रोलक्रममा अगाडि ल्याइएको थियो । फलस्वरुप उनी सजिलै एसएसपीमा बढुवा भएका थिए ।

सशस्त्र प्रहरीमा उनलाई आकर्षक ठाउँ पाउने भाग्यमानी अधिकृतका रुपमा चिनिन्छ । डीएसपी हुँदा सुनौली बोर्डर बसेका उनी एसपी भएपछि कार्यदल र भैरहवा गणमा बसेका थिए । भैरहवा गणमा कार्यरत रहेकै बेला उनले स्टाफ कलेजमा नाम निकालेका थिए । एसएसपी भएपछि उनको यो पहिलो आकर्षक ठाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?