तिजमा अनावश्यक हर्कत गरे ३० हजार रुपैयाँसम्म जरिवाना र ३० दिनसम्म कैद

लोकपथ
70
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम नमनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाद्वारा बिहीबार जारी सूचनामा तिजसँग सम्बन्धित कार्यक्रम खर्चिला र भड्किलो गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे/गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानुनबमोजिम कारबाही हुनेछ,’ सूचनामा उल्लेख छ ।

सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको उल्लेख गर्दै प्रशासनले भनेको छ, ‘आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्बद्र्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ ।’

सामाजिक व्यवहार (सुधार)ऐन, २०३३ (२०७२/११/१३ मा संशोधन) को २० नम्बरमा दण्ड सजायको व्यवस्था रहेको छ । जसमा ३० हजार रुपैयाँसम्म जरिवाना र ३० दिनसम्म कैद हुने उल्लेख छ ।

विगतका तुलनामा पछिल्ला केही वर्षमा तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको पनि सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?