गोली हानी मारिएको जंगली बँदेलसहित पक्राउ परे पूर्व डीआईजी र बहालवाला सई

प्रदेशका पूर्व उपसभामुखको छोरासमेत बँदेल तस्करीमा संलग्न

लोकपथ
532
Shares

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी पलार क्षेत्रमा बुधबार राति जंगली बँदेल सिकार गरेको अभियोगमा नेपाल प्रहरीका पूर्वडीआईजीसहित १० जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा र एक जना बहालवाला नायव निरीक्षक (सई) सहित छन् ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ निवासी पूर्वडीआईजी ज्ञानविक्रम शाह, हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश, विराटनगर उपमहानगरपालिका–३ निवासी नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने छन् ।

यस्तै, पक्राउ पर्ने अन्यमा इटहरी–२ का प्रदीप लिम्बू, राजविराज–७ का रवीन दास, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, हनुमाननगर कंकालनी–५ का ओमशंकर प्रसैला, वडा नम्बर १ का लक्ष्मण मण्डल र वडा नम्बर ३ का शंकर खिडहरी यादव छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले जानकारी दिए । उनका अनुसार २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक थान पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?