शहीद धर्मभक्तमा १२ वर्षमा १३ सय मिर्गौला प्रत्यारोपण, ९९ प्रतिशतभन्दा बढी सफलता

लोकपथ
35
Shares

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १ हजार ३ सय जनाको मिर्गौला प्रत्यारोपण भएको छ । स्थापनाको १२ वर्षमा १३ सय मिर्गौला प्रत्यारोपण भएको केन्द्रले जनाएको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी केन्द्रले १२ वर्षको समयमा भएको प्रत्यारोपणको जानकारी दिँदै १ हजार ३ सय जनामा मिर्गौला तथा २८ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिएको हो । सो अवसरमा मस्तिष्क मृत्युपछि हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी दिँदै मस्तिष्क मृत्युपछि हुने अङ्गदानमा सहभागिताका लागि जनचेतना जगाउनुपर्ने समेत सहभागीले बताएका छन् ।

प्रमुख अतिथिका रूपमा उपस्थित भएकी मुख्यसचिव लीलादेवी गड्तौलाले केन्द्रले प्रत्यारोपण क्षेत्रमा उपलब्ध गराइरहेको सेवा प्रति नेपाल सरकार अत्यन्त खुसी रहेको र यसबाट देशभरका अङ्ग फेल भएका बिरामीहरू लाभान्वित भएको बताउँदै केन्द्रलाई धन्यवाद समेत ज्ञापन गरिन् । सीमित भौतिक पूर्वाधारका बिच केन्द्रले विश्व स्तरीय सेवा उपलब्ध गराउनु देशकै लागि गौरवको विषय भएको बताउँदै केन्द्रका लागि उपयुक्त स्थानमा जग्गा प्राप्ति गर्न पहल गर्नेसमेत बताइन् ।

केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरूको जस्तै नतिजा दिन सक्नुमा केन्द्रमा अहोरात्र खटिने कर्मचारीहरूको योगदान रहेको बताए । केन्द्रको आफ्नै भौतिक संरचनासमेत नभएको अवस्थामा देशकै सबैभन्दा बढी सफलता भएको र देशमै सबैभन्दा बढी प्रत्यारोपण गर्ने अस्पताल बनाउन सकेकामा गर्व रहेको बताए ।

कार्यकारी निर्देशक श्रेष्ठले सरकारले जग्गा उपलब्ध गराए लगत्तै केन्द्रको क्षमता बिस्तार गरी ६ महिनाभित्र ३ सय शैयाको प्रिफ्याब भवन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको बताए । भक्तपुरमै जग्गासमेत रहेको भन्दै भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने नेपाल सरकार उद्योग मन्त्रालयको स्वामित्वमा रहको २ सय ५८ रोपनी जग्गामध्ये १ सय रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन समेत माग गरे । उक्त स्थानको जग्गा उपलब्ध भएमा मिर्गौला र कलेजो प्रत्यारोपणको लागि पर्खाइमा बसिरहेका बिरामीहरूलाई निर्बाध सेवा दिन सकिने श्रेष्ठले बताए ।

केन्द्रले गत आर्थिक वर्ष २०८०।०८१ मा १ सय ९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी कुल २ सय ११ जनाको प्रत्यारोपण गरिएको र शत प्रतिशत सफलता मिलेको समेत बताए । प्रत्यारोपण भएकामध्ये ९९ प्रतिशतभन्दा बढीमा सफलता मिलेको र यो सफलता विश्वकै लागि दुर्लभ रहेकोसमेत कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?