दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ : अध्यक्ष नेपाल

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुर्व्यसनीमा लाग्ने युवाहरुको विशाल सञ्जाल रहेको उल्लेख गर्दै त्यस सञ्जाललाई समाप्त पानुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुर्व्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र आपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘नेपालमा समेत दुर्व्यसनी र दुर्व्यसनमा लाग्नेहरुको एउटा सञ्जाल देखिएको छ । त्यो सञ्जाललाई पुरै रुपमा हामीले समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । सबै युवाहरुले आफ्नो ठाउँबाट इमानदार भएर लाग्नुभयो भने नसकिने कुरा हुँदैन । त्यस्ता दुर्व्यसनीहरुलाई जेल कोच्न सकिन्छ । त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन । नयाँ पुस्तामा प्रभाव पार्न, नेपाली समाजलाई खतम पार्न र पैसाको लोभमा अत्यन्त आपराधिक क्रियाकलापहरु संलग्न हुने अपराधीहरूलाई छुट दिने, सहानुभूति व्यक्त गर्ने उन्मुक्ति दिने काम गर्नु हुँदैन ।’

अहिलेका युवा तथा विद्यार्थीहरूले देशलाई अथाह माया गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।  पछिल्लो समयका युवाहरुमा अध्ययनशीलताको कमी रहेको उल्लेख गर्दै उनले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि अध्ययनको आवश्यकता पर्ने बताए । दुर्व्यसनका कारण संसार नै सखाप हुने स्थिति सिर्जना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले युवाहरुलाई नराम्रो संगत गर्न नहुन सुझाए । 

‘अहिले युवा र विद्यार्थीहरूले सबैभन्दा बढी देशलाई माया गर्नुस् । देश र देशवासीलाई माया गर्नुभयो भने मात्र तपार्इंको जीवन सार्थक हुन सक्दछ । ज्ञान र चेतना बढाउनका लागि पर्याप्त अध्ययनको आवश्यकता पर्दछ । मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्दछ । मेहनतले नै हामीलाई सफलताको शिखरमा पुर्‍याउन सकिन्छ ।

जीवनमा आएका चुनौतीहरूलाई चिरेर अगाडी बढ्न सकियो भने संसारमा गर्न नसकिने चिज संसारमा केही पनि छैन । घरको जग बलियो भयो भने मात्र सिंगो घर बलियो हुन्छ भनेझैँ सानैबाट राम्रो मेहेनत गरेमात्र भोलिको भविष्य सुन्दर छ । त्यसैले आजैदेखि श्रम गरेर सज्जनको संगत गरेर अगाडि बढ्नुहोस् । नराम्रो बानी व्यहोरा विकास नगर्नुस् । दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ,’ उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?