आगो लगाएर दुई छोरीको ज्यान लिने बुवा अन्ततः जेल चलान

सिंहले पहिले पनि गरेका थिए श्रीमती तथा छोरीको हत्या प्रयास

काठमाडौं । गत जेठको २२ गते रातको ८ बजे चाबहिलको सरस्वतीनगरमा रहेको चञ्चलबहादुर सिंहको घरबाट बचाउ बचाउको आवाज आयो । चञ्चलबहादुरको छोरीले ‘आगो लाग्यो, बचाउ बचाउ’ भनेलगत्तै सोही घरमा भाडामा बस्ने सञ्जय गुरुङ चारतलाको घरको तेश्रो तलामा पुगे ।

सञ्जय घरको तेश्रो तलामा पुग्दा चञ्चलबहादुरकी १६ वर्षीया छोरी समृद्धि सिंह आगोले जल्दै चिच्याउँदै बाहिर निस्कँदै थिइन् । समृद्धि जलिरहेको अवस्थामा देखेपछि सञ्जयले ब्ल्यान्केट ल्याएर उनलाई ढाके । त्यसपछि आगो बल्न बन्द भयो । समृद्धिले नै कोठामा आगो लागेको भनी बताएपछि सञ्जय हतारहतार कोठामा पुग्दा त्यहाँ चञ्चलबहादुर केही नभएको जस्तै गरी कोठाको बार्दलीमा बसिरहेका थिए । तर कोठाभित्र दनदनी आगो बलिरहेको थियो भने त्यहाँ उनकी जेठी छोरी २४ वर्षीया सुप्रिया सिंह, कान्छी छोरी ९ वर्षीया सुहानी सिंह र श्रीमती बिनु सिंह जलिरहेकी थिइन् ।

कोठामा आगो लागेर जलिरहेका उनीहरुलाई छिमेकीले उद्धार गरी आगो निभाएर अस्पताल लगे । सुरुमा चाबहिलमा रहेको हेल्पिङ हेन्डस् अस्पतालमा उपचार गराएकामा त्यहाँ थप उपचार नहुने भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । जेठ २२ गते भएको आगलागीको यो घटनाबाट जेठ २६ गते माइली छोरी १६ वर्षीया समृद्धि र असार ३ गते जेठी छोरी सुप्रियाको मृत्यु भयो । आगलागीमा सामान्य घाइते भएका चञ्चलबहादुर केही दिनको उपचारपछि डिस्चार्ज भए भने करिब १० प्रतिशत जलेका बिनु सिंह र चञ्चलकी कान्छी छोरी सुहानी करिब डेढ महिनाको उपचारपछि डिस्चार्ज भए ।

घटनालगत्तै अनुसन्धान सुरु गरेको गौशाला प्रहरीले घटना भवितब्य नभएर चञ्चलबहादुरले नै सबैको हत्या गर्ने मनसायले बोतलमा पेट्रोल बोकेर ल्याई छोरीहरु र श्रीमतीमाथि छर्किएर आगो लगाएको जानकारी पायो । त्यसपछि चञ्चललाई उपचारकै क्रममा प्रहरी निगरानीमा राखियो र डिस्चार्ज भएलगत्तै पक्राउ गरियो । त्यसपछि प्रहरी प्रतिवेदनका आधारमा गत भदौ १२ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो । काठमाडौं जिल्ला अदालतले भदौ १३ गते चञ्चलबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि ५५ वर्षीय चञ्चलबहादुरलाई कारागार पठाइयो ।

चञ्चलले किन गरे आफ्नै छोरी र श्रीमतीमाथि यस्तो अपराध ?

चाबहिल, सरस्वतीनगरका चञ्चलबहादुर सिंह र बिनु सिंहबीच २५ वर्षअगाडि मागी विवाह भएको थियो । विवाहको एक वर्षमा बिनुले छोरी सुप्रियालाई जन्म दिएकी थिइन् भने त्यसको ८ वर्षपछि अर्की छोरी समृद्धिको जन्म भएको थियो । माइली छोरी समृद्धि जन्मेको ७ वर्षपछि कान्छी छोरी सुहानीको जन्म भयो । हुन त विवाहको समयदेखि नै चञ्चल र बिनुबीच झैझगडा भइरहन्थ्यो । श्रीमान र श्रीमतीबीच कहिलेकाहीँ सामान्य झगडा हुनु स्वभाविक नै हो भन्दै बिनुले कुनै उजुरबाजुर गरेकी थिइनन् । चञ्चलबहादुरले बिनुलाई गालीगलौज गर्ने, झै–झगडा गर्ने, हेप्ने, कुटपिट गर्नेलगायतका विभिन्न शारीरिक तथा मानसिक यातना दिएपनि बिनुले सहेर बसेकी थिइन् । यद्यपि बिनुले घरायसी विवाद भन्दै प्रहरीलाई खबरसमेत नगरी बसेकी थिइन् । बिनुको त्यही ‘कमजोरी’ गत जेठ २२ गते दुई छोरीहरुको काल बनी आयो भने आफू र अर्की छोरीसमेत मरणासन्न बन्नुपर्‍यो । मदिरामा लठ्ठ चञ्चलबहादुरले घरमा खाना खाइरहेको अवस्थामा बोतलमा पेट्रोल ल्याई सबैलाई छर्किएर आगो लगाइदिए ।

प्रतिकात्मक तस्वीर : एआई

चञ्चलले पहिले पनि गरेका थिए श्रीमती र छोरीको हत्या प्रयास

त्यसो त चञ्चलबहादुर सिंहले यसभन्दा अगाडि पनि श्रीमती तथा छोरीहरुको हत्या प्रयास नगरेका होइनन् । चञ्चलले यसभन्दा अगाडि पनि घरमा दुईपटकसम्म आगो लगाइदिएका थिए । एकपटक आगो लगाउँदा दमकल नै बोलाएर निभाउनुपरेको थियो । श्रीमती तथा छोरीमाथि पटकपटक आगो लगाउने प्रयास गरेका थिए । तर उक्त घटना प्रहरीसम्म नपुग्दा जेठ २२ गते ठुलो अपराध भयो ।

चञ्चलबहादुरकी श्रीमती बिनु सिंहले प्रहरीमा दिएको जाहेरीमा चञ्चल सुध्रिएलान् भनेर उजुरी नदिएको तर उनी दिनानुदिन बिग्रँदै गएर हत्यासम्म गरेको बताएकी छिन् ।

बिनुले जाहेरीमा भनेकी छिन्,

‘… विवाहपश्चात् निज प्रतिवादी श्रीमानले विभिन्न किसिमको गालीगलौज झै–झगडा गर्ने, हेप्ने, हातपात कुटपिट गर्ने गरी विभिन्न किसिमले शारीरिक तथा मानसिक यातना दिँदै आएकोमा मैल सहँदै आएकी थिएँ । विगतमा निज श्रीमानले मलाई तथा मेरो छोरीसमेतलाई दुईपटक घरमा नै जलाउने प्रयास गर्दा पनि हामी बाँच्न सफल भएका थियौँ । हालसम्म पनि निज श्रीमानको बानी ब्यहोरामा कुनै सुधार नआई निजले सोही किसिमको व्यवहारा घरमा म तथा मेरो छोरीहरुसँग गर्दै आएका थिए । सोही क्रममा मिति २०८१।०२।२२ गते अन्दाजी ८ बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ चाबहिलस्थित घरमा निज प्रतिवादी श्रीमानले प्लाष्टिकको बोतलमा पेट्रोल बोकी हामीलाई मार्ने योजना बनाइ घरमा आई म तथा छोरीहरुसमेत माथि जेठी छोरीको कोठामा खाना खाइरहेको अवस्थामा सोही कोठामा आई अचानक सबैको शरीरमा पेट्रोल खन्याइ आगो लगाइदिएका हुन् ।’

घाइते ९ वर्षीया छोरीले भनिन्, ‘घाउ अझै दुखिरहेको छ, बुवालाई कडा कारबाही होस्’
घरमा खाना खाइरहेको अवस्थामा मदिरा सेवन गरेर आएका आफ्नै बुवाले पेट्रोल छर्किएर आगो लगाइदिएपछि घाइते बनेकी सुहानी सिंहले आफ्नो बुबाले अपराध गरेको भन्दै कडा कारबाहीको माग गरेकी छिन् । प्रहरीमा सुहानीले गरेको घटना विवरण कागजमा उनले घटना कसरी भयो बताएकी छिन् ।

सुहानीको घटना विवरण कागज यस्तो छ

‘बुबाले यसभन्दा पहिला पनि पटक पटक मादकपदार्थ सेवन गरी आमा तथा हामी छोरीहरुसँग झगडा गर्ने, अपशब्द प्रयोग गर्ने, हामी छोरीहरु तथा आमालाई कुटपिट गर्ने, हामीहरुलाई मार्न भनी यसभन्दा पहिला पनि आगो लगाउने प्रयास गर्दै आउनु भएको थियो । वारदातको दिन आमा, दिदीहरु र मसमेत घरमा नै थियौँ, बुबा घर बाहिरबाट आई केही बोल्नु भएको थिएन । यस्तैमा बुबा एक्कासी हामीहरु भएको स्थानमा आई हातमा पेट्रोल भएको बोतल ल्याई उक्त पेट्रोल हामीहरुतर्फ छर्की खल्तीबाट लाइटर निकाली लाइटर जलाउन लाग्दा हामीहरुले उक्त लाइटर जलाउन रोक्दा रोक्दै बुबाले लाइटर जलाएको कारण आगो लागी उक्त आगोले हामीहरुलाई छोपेको हो । सो पश्चात् घटना सम्बन्धमा प्रहरी कर्मचारीहरु तथा स्थानीय मानिसहरुले थाहा पाई हामीहरुलाई उपचारको लागि चाबहिलमा रहेको हस्पिटलमा लगी थप उपचारको लागि कीर्तिपुर अस्पताल लगेको हो । उक्त अस्पतालमा हामीहरुको उपचार हुँदै गर्दा दिदीहरु समृद्धि सिंह र सुप्रिया सिंहको मृत्यु भएको भन्ने कुरा हामीहरु डिस्चार्ज हुँदाको दिन मैले सुनेकी हुँ । हाल म र आमाले घरमा नै बसी आराम गरिरहेका छौँ । मेरो दुबै खुट्टा तथा पिठ्युको भागमा जलेकोले हाल उक्त घाउहरु दुखिरहेको छ । मेरो औषधी उपचार को कसले गरेको भन्ने सम्बन्धमा आमालाई थाहा होला । यसरी पेट्रोल छर्की आगो लगाएको कारण दिदीहरुको मृत्यु भएको र हामीहरुको पनि घाउहरु हालसम्म सन्चो भइनसकेकाले पक्राउ प्रतिवादी बुबालाई कडा कारबाही हुनुपर्छ ।’

आवेगमा अपराध भयो, कानुनले दिने सजाय भोग्छु : प्रतिवादी चञ्चलबहादुर सिंह

घटनामा सामान्य घाइते भई उपचारपश्चात् पक्राउ गरी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका प्रतिवादी चञ्चलबहादुर सिंहले आवेगमा अपराध गरेको र कानुनले दिने सजाय भोग्ने बयान दिएका छन् । आफूले मदिरा सेवन गर्ने गरेको र मदिरा सेवन गरेको समयमा आवेगमा श्रीमती तथा छोरीमाथि आगो लगाएको स्वीकार गर्दै सजाय भोग्ने बताएका हुन् । घरमा प्रायः झैझगडा भइरहने भएकाले टेन्सनका कारण आफूले धेरै मदिरा पिउन थालेको र त्यसैको कारण घटना भएकोसमेत चञ्चलले बताए ।

चञ्चलले बयानमा भनेका छन्,
‘… श्रीमतीले जहिलेसुकै मसँग झगडा गर्ने, स–सानो कुरामा निहुँ खोज्ने र निजको कुरामा छोरीहरुले पनि सहमति दिई मलाई अवहेलना गर्ने, गालीगलौज तथा हातपातसमेत गर्ने गर्दै आएकीले मैले पछिल्लो सयममा मादक पदार्थ सेवन गर्न लागेको थिएँ । मैले मादक पदार्थ सेवन गरी म घरमा जाँदा जाहेरवाला श्रीमती तथा छोरीहरुले झनै मलाई दिनहुँ गालीगलौज गरी बेवास्ता गर्ने गरेकाले हामीहरुको बेला बेलामा झगडा भई नै रहन्थ्यो । उक्त टेन्सनले म झनै बढी मादक पदार्थ सेवन गर्न लागेको थिएँ । यस्तैमा मिति २०८१।०२।२२ गते साँझको समयमा समेत मैले सोही सरस्वती नगर एरियामा रहेको एक खाजाघरमा गई डेढ माना लोकल रक्सी सेवन गरी घरमा जाँदा समेत जाहेरवाला श्रीमती तथा छोरीहरुले मलाई गालीगलौज गरी हातपातसमेत गरी कुटपिट गर्न लागेकोले मलाई रिस उठी मैले केही दिन पहिले मोटरसाइकलमा हाल्न भनी घरमा राखेको १ लिटरको पेट्रोलको बोतल निकाली निजहरुलाई डराउन उक्त बोतल देखाइ म यो पेट्रोलले आगो लगाइदिन्छु भनी बोतलको बिर्को खोल्दा जाहेरवाला श्रीमती तथा छोरीहरुले मलाई हातपात गरी मलाई न्याकेकोले उक्त बोतलमा भएको पेट्रोल छछल्की जाहेरवाला श्रीमती, छोरीहरु, मेरो शरीर तथा भुईंमा समेत पोखिएको र सोही बेला मैले साथमा बोकेको लाइटर निकाली आगो बाल्दा उक्त आगोले म, जाहेरवाला श्रीमती बिनु सिंह, छोरीहरु समृद्धि सिंह, सुप्रिया सिंह र सुहानी सिंहलाई आगोले छोपी हामीहरुको शरीरमा आगो लाग्न गएको र कोठामा समेत आगलागी हुन गएको हो । सो पश्चात् मलाई आगोले पोली म बेहोस भएको हुँ, पछि म होसमा आउँदा कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारार्थ थिएँ । घटना सम्बन्धमा बुझ्दा वारदातको बखत म तथा जाहेरवाला श्रीमती बिनु सिंह, छोरीहरु सुहानी सिंह, समृद्धि सिंह र सुप्रिया सिंहसमेत सोही आगोबाट जली सख्त घाइते भई स्थानीय तथा प्रहरीको सहयोगमा हामीहरुलाई तत्काल चाबहिलस्थित हेल्पिङ ह्यान्डस् अस्पतालमा लगिएको र उक्त अस्पतालमा हामीहरुको उपचार हुन नसकी थप उपचारको लागि कीर्तिपुर अस्पताल पु¥याएको भन्ने कुरा सुनी थाहा पाएको हुँ । उक्त अस्पतालमा हामीहरुको उपचार हुँदै गर्दा सोही वारदातमा आगो लागी सख्त घाइते भएका कारण मिति २०८१।०२।२६ गते छोरी समृद्धि सिंहको मृत्यु भएको र अर्की छोरी सुप्रिया सिंहको मिति २०८१।०३।०३ गते बिहानको समयमा मृत्यु भएको भन्ने कुरा म अस्पतालमा उपचारार्थ हुँदै गर्दा सुनी थाहा पाएको हुँ । उक्त अस्पतालमा मेरो उपचारपश्चात् मिति २०८१।०४।२१ गते म डिस्चार्ज भएको हुँदा मेरोविरुद्धमा श्रीमती बिनु सिंहले प्रहरी वृत्त गौशालामा कर्तव्य ज्यानसमेतको शीर्षकमा जाहेरी लेखी पेस गरेकी रहिछन् । सोही अनुसन्धानको सिलसिलामा प्रहरीले मलाई प्रहरी वृत्त गौशालामा उपस्थित गराएको हो । सोही वारदातमा घाइते जाहेरवाला श्रीमती बिनु सिंह र छोरी सुहानी सिंह डिस्चार्ज भएको भन्ने कुरा सुनेको छु । यसरी रिसको आवेगमा आई आगो लगाउनु मेरो गल्ती भयो । मैले गरेको कसुरमा हुने सजाय भोग्न मन्जुर छु ।’

जन्मकैदको मागदावी
मदिराको नसामा आफ्नै श्रीमती र छोरीहरुमाथि पेट्रोल छर्किएर हत्या तथा हत्याको प्रयास गर्ने चञ्चलबहादुर सिंहविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जन्मकैदको मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकामा बिहीबार न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले चञ्चललाई थुनामा पठाउने आदेश दिएका थिए । त्यसपछि चञ्चल प्रहरी हिरासतबाट कारागार चलान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?