माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

लोकपथ
168
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि माओवादी केन्द्र लामो समय पर्ख र हेरको अवस्थामा रहेको थियो । तर पार्टीबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब बढेसँगै समर्थन फिर्ता लिएको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

त्यसो त गत साउन ११ गते कोशी प्रदेश सरकारबाट बाहिरिएको थियो ।

कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता कार्की नेतृत्वमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधारमन्त्री गणेशप्रसाद उप्रेती, वन, वातावरण तथा पर्यटनमन्त्री नारायणबहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन, वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर सामेल भएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?