मर्मतमा गएको निगमको वाइडबडी एक साताभित्र नेपाल आइपुग्ने

दशैं तिहारमा ४ वटै विमानले नियमित उडान भर्ने दाबी

लोकपथ
630
Shares

काठमाडौं । सी चेकका लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान एक साताभित्र नेपाल आइपुग्ने भएको छ । सी चेक परीक्षणका लागि करिब २ महिना पहिले इटाली गएको विमान सेप्टेम्बर पहिलो साताभित्र नेपाल आउने भएको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार सी चेकका लागि इटालियन कम्पनी एसीटेक एसपीएलाई मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल (एमआरओ) को जिम्मेवारी दिइएको थियो । गत २२ जुनमा नियमित उडानबाट युएई पुगेको जहाज त्यहीँबाट सी चेकका लागि इटाली पुगेको थियो । एक महिनामा मर्मत सक्ने भनेर इटाली गएको भए पनि सी चेकका क्रममा फेर्नुपर्ने सामान समयमै उपलब्ध नहुँदा समय लागेको प्रवक्ता पौडेलले लोकपथलाई बताए । यद्यपि अहिले सामान आइसकेको र मर्मत अन्तिम चरणमा पुगेको भन्दै सेप्टेम्बरको पहिलो साताभित्र जहाज नेपाल आएर नियमित उडानमा जाने प्रवक्ता पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार गत २२ जुनमा एक महिनामा मर्मत गरिसक्ने र त्यसपछि अर्को विमान सी चेकका लागि पठाउने योजना अनुसार नै 9N-ALY कल साइनको वाइडबडी विमान मर्मतका लागि पठाइएको थियो । तर विमान निर्माता कम्पनीले समयमै इन्जिन मर्मतका लागि पार्टपुर्जा उपलब्ध नगराउँदा २ महिनाभन्दा बढी समय लागेकाले केही समस्या भएको बताए । अहिले भने विमान करिब करिब मर्मत पूरा भइसकेको र अहिले प्राविधिक परीक्षण र विश्लेषणको क्रममा रहेको छ ।

तर पहिलो वाइडबडी विमान नेपाल नआइपुग्दै अर्को विमानको समेत उडान समय सकिएकाले बाध्य भएर अर्को वाइडबडी विमान पनि सी चेकका लागि इटाली पठाउनुपरेको हो ।

पहिलो विमान बनेर नआइपुगेको भए पनि निश्चित घण्टा उडेपछि वा निश्चित समय पूरा भएपछि अनिवार्य रुपमा सी चेक परीक्षणका लागि विमान पठाउनै पर्ने हुन्छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संस्थाको नियम अनुसार समयमै सी चेक गरिएन भने त्यस्तो विमान उडानमा रोक लाग्न सक्ने भएकाले उडानको समय सकिएपछि मात्रै मर्मतका लागि २८ अगस्टमा इटाली पठाइएको हो । कल साइन 9N-ALZ को वाइडबडी जहाज मर्मतका लागि पठाएको एक महिनामै बनेर नेपाल आइपुग्ने प्रवक्ता पौडेलले बताए ।

रमेश पौडेल, प्रवक्ता, नेपाल एअरलाइन्स

केही सांसदहरूले संसद् निगमको चार वटै विमान ग्राउण्डेड भएको आरोप लगाइएको तथा केही सञ्चारमाध्यममा तीन वटा जहाज ग्राउण्डेड भएको भनी अफवाह फैलाइएको समेत प्रवक्ता पौडेलले बताए । निगमको दुईवटा न्यारोबडी जहाज नियमित उडानमै रहेको पनि पौडेलले बताए ।

मर्मतमा गएको वाइडबडी मध्ये एउटा विमान यो साताभित्रै नेपाल आएर नियमित उडानमा जान्छ । अर्को विमान पनि एक महिनाभित्रै बनेर आउँछ ।’

पौडेलले भने, ‘केही माननीय ज्यूलाई चार वटै विमान ग्राउण्डेड भएको भनेर गलत ब्रिफिङ भएको रहेछ भने केही सञ्चारमाध्यमले तीन वटा विमान ग्राउण्डेड भनेर समाचार लेखे, तर त्यो अफवाह मात्रै हो । निगमको चार वटा जहाजमध्ये दुईवटा वाइडबडी विमान सी चेकका लागि इटाली छ भने दुईवटा न्यारोबडी जहाज अहिले पनि विभिन्न सेक्टरमा उडान भरिरहेको छ । मर्मतमा गएको वाइडबडी मध्ये एउटा विमान यो साताभित्रै नेपाल आएर नियमित उडानमा जान्छ । अर्को विमान पनि एक महिनाभित्रै बनेर आउँछ ।’

पौडेलले विमानको इन्जिन बनाउने कुरा कसैले दबाब दिएर छिटो गराउन नसकिने पनि बताए । उनले भने, ‘जहाज मर्मत कार्य विशिष्टिकृत कार्य भएकोले अन्तर्राष्ट्रिय मापदण्ड र सेफ्टी प्रोटोकलहरू पूरा गर्नुपर्ने हुँदा यसमा कसैले दबाब दिएर सुरक्षासँग सम्झौता गर्ने कुरा हुँदैन । जहाज पूर्ण रूपमा सुरक्षित तबरले मर्मत भई आउने छ र एक हप्ताभित्र उडानमा जानेछ ।’

‘दशैं तिहार जस्ता चाडबाड र मुख्य सिजनमा निगमका चार वटै जहाज नियमित उडानमा जान्छन्, त्यतिबेला यात्रुलाई कुनै समस्या हुँदैन ।’

प्रवक्ता पौडेलका अनुसार दशैं अगाडि नै अर्को वाइडबडी विमान पनि सी चेक मर्मत सकेर नेपाल आइपुग्ने र दशैं तथा तिहारमा नियमित उडानमा जाने दाबी गरे । उनले भने, ‘दशैं तिहार जस्ता चाडबाड र मुख्य सिजनमा निगमका चार वटै जहाज नियमित उडानमा जान्छन्, त्यतिबेला यात्रुलाई कुनै समस्या हुँदैन ।’

आन्तरिक उडानमा रहेको दुईवटा मध्ये एक विमानको इन्जिनमा समस्या आएकाले त्यसको इन्जिन फेर्ने काम जारी रहेको निगमले जनाएको छ । दशैं अगाडि नै आन्तरिक उडानमा रहेको जहाजको इन्जिन फेरेर नियमित उडानमा आउने निगमले जनाएको छ ।

सुपर ग्लु लगाएर विमान उडाउन खोजिएको आरोप असत्य
केही सञ्चारमाध्यममा निगमको न्यारोबडी विमान मर्मतका क्रममा सुपर ग्लु लगाएर उडाउन खोजिएको समाचार आएको भन्दै निगमले त्यसको खण्डनसमेत गरेको छ । सुपर ग्लु लगाएर विमान उडाउन खोजिएको भनिएको छ, के भएको हो भन्ने लोकपथको प्रश्नमा प्रवक्ता पौडेलले भने, ‘त्यो निगमलाई बदनाम गराउन फैलाइएको अफवाह मात्रै हो ।’

भएको के हो त भन्ने लोकपथको प्रश्नमा पौडेलले भने, ‘सुपर ग्लु लगाएर जहाज उडाउन खोजियो भन्ने सत्य होइन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सर्टिफाइड इञ्जिनियरहरुले नियमअनुसार मर्मत सम्भारमा प्रयोग हुने र गर्न पाइने पार्टपुर्जा तथा सामाग्रीको प्रयोग गरिएको छ । सुपर ग्लु लगाएर विमानको इन्जिन वा मर्मत हुन्छ र भन्या ? यो निगमलाई बदनाम गराउने उद्देश्यले स्वार्थ समूहले फैलाएको अफवाह मात्रै हो, त्यसमा कुनै सत्यता छैन ।’

इन्जिनियरलाई निलम्बन गरिएको हो भन्ने सम्बन्धमा प्रवक्ता पौडेलले निलम्बन गरिएको नभई होल्ड गरिएको बताए । पौडेलले अगाडि भने, ‘निगमको एउटा न्यारोबडीको हाइड्रोलिकमा समस्या आयो । त्यसपछि इञ्जिनियरहरुले हाइड्रोलिक मर्मत गरी उडान योग्य बनाए । तर कसैले भन्न नजानेर सुपर ग्लु लगाएर टाँसेको भन्ने उजुरी प्राधिकरणलाई दियो । त्यसपछि प्राधिकरणले उक्त विमानको हाइड्रोलिक परिवर्तन गरेर मात्रै उडाउनु भन्ने निर्देशन दिएपछि हाइड्रोलिक परिवर्तन गरिएको छ र मर्मत गरिएको हाइड्रोलिक प्राधिकरणले अनुसन्धानका लागि लिएको छ । त्यो अनुसन्धान नसकिएसम्म इन्जिनियरलाई कामकाजमा रोक लगाइएको हो, निलम्बन गरिएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?