मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी

घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको आरोप, बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको दाबी

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरेको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएपछि उनीमाथि प्रहरी प्रधान कार्यालयले कारबाहीको तयारी गरेको हो ।

उनीमाथिको उजुरीपछि भएको अनुसन्धानपछि प्रहरीले उनीसँग निकट बिचौलियालाई पक्राउ गरेको छ भने केही घुमुवालाई प्रहरी प्रधान कार्यालय झिकाएर सोधपुछ थालेको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रुपन्देहीमा हालै आयोजित एक कार्यक्रममा डीआईजी पोखरेलको नाम नलिई एक डीआईजीमाथि कारबाहीको प्रक्रिया अघि बढिरहेको बताएका थिए । प्रहरी महानिरीक्षक कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए ।

उनले संकेत गरेका डीआईजी अरु कोही नभएर उनकै ब्याची पोखरेल भएको स्रोतले जनाएको छ । डीआईजी पोखरेल आगामी असोज १४ गते डीआईजीको ५६ बर्से उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको प्रहरी स्रोतको दाबी छ ।

उनीमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको प्रमाण नै भेटिएको प्रहरी मुख्यालयको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ ।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपु)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि मुख्यालय तानेको छ । मुख्यालय तानिनेमा प्रहरी नायव निरीक्षक चन्द्रप्रसाद यादव (सीमा प्रहरी चौकी दुहबी, धनुषा), प्रहरी सहायक निरीक्षक ।उपेन्द्रप्रसाद यादव (प्रहरी चौकी मोहवा, सप्तरी), वरिष्ठ हवल्दार निरजकुमार साह (जिप्रका धनुषा), हवल्दार बच्चेलाल यादव (जिप्रका बारा), हवल्दार बृजेश मुखिया ( इप्रका बालांखा, भोजपुर), हवल्दार शैलेन्द्रप्रसाद कुर्मी ( इप्रका निजगढ), सहायक हवल्दार अशोककुमार यादव ( प्रहरी चौकी जनकुरधाम), सहायक हवल्दार ईश्वर अच्छामी (मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम), सहायक हवल्दार मुकुन्द शर्मा (प्रहरी चौकी कपिलेश्वर, धनुषा) र जवान सतेशलाल कायस्थ (जिप्रका धनुषा)रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?