साउन यता ७८ जनामा स्क्रबटाइफस संक्रमण

लोकपथ
133
Shares

चितवन ।  जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको संक्रमणदेखिएको छ । तीन सय ६ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण देखिएको हो ।

जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई सय ४८ जनामा स्क्रबटाइफस देखिएको थियो ।

‘स्क्रबटाइफस संक्रमणमुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रबटाइफस भएमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ, ’ जनस्वास्थ्य अधिकृत पटेलले भने ।

यसको संक्रमणबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने पटेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?