टानको नयाँ कार्यसमितिका लागि सोमबार मतदान हुँदै, दुवै समूह तीव्र लबिङमा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय नयाँ कार्यसमितिको निर्वाचन भोलि सोमबार हुँदैछ । एलिस रिसेप्सन गैरीधारामा टानको ४६औँ वार्षिक साधारण सभासँगै हुन लागेको यस निर्वाचनमा राजेन्द्र सापकोटा र सागर पाण्डे अध्यक्ष पदका लागि प्रतिस्पर्धीका रूपमा उभिएका छन् । यी दुवै उम्मेदवार भोलि हुने निर्वाचनका लागि निकै तीव्रताका साथ लागिपरेका छन् । यी दुवै प्रतिस्पर्धी एक आपसमा निकै बलिया देखिएका छन् ।

एमालेनिकट राजेन्द्रप्रसाद सापकोटा २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक सापकोटा यसअघि पर्यटन बोर्डको सदस्यसमेत रहिसकेका कारण पर्यटन क्षेत्रसँगको समन्वयमा राम्रो भूमिका खेल्न सक्ने व्यक्तिका रूपमा हेरिएको छ ।

संकटउम्मुख पदयात्रालाई बचाउनु, पदयात्राका रुटहरूलाई जोगाउनु तथा पर्वतीय पर्यटनको महत्त्व र उपलब्धिको बारेमा बुझाउनु नै सापकोटा पक्षले अगाडि सारेका मुख्य एजेन्डाहरू हुन् । त्यसबाहेक हवाई टिकटमा भ्याट लगाइसकेपछि महँगिएको नेपालको हवाई उड्डयन तथा पर्यटन खर्च घटाउने र पर्यटकको सङ्ख्या बढाउने विषय सापकोटाले आफ्नो प्रमुख एजेन्डाका रूपमा अगाडि बढाएका छन् ।

पाण्डे समूहले टान अध्यक्ष कोषको स्थापनाका साथै पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गर्ने जस्ता मुख्य एजेन्डाहरू समावेश गरेका छन् ।

त्यस्तै माओवादीनिकट सागर पाण्डे ३० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय व्यवसायी हुन् । टानको पूर्व सचिवसमेत रहेका पाण्डेलाई यस क्षेत्रमा सफल व्यवसायीको रूपमा चिनिन्छ । उम्मेदवारी दर्तापछि पाण्डे समूहले भदौ १३ गते आफ्नो २२ बुँदे एजेन्डा सार्वजनिक गरेको थियो । जसमा टान अध्यक्ष कोषको स्थापना गरिनुका साथै पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गरिने र व्यावसायिक एवम् साझा प्यानलले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने जस्ता मुख्य एजेन्डाहरू समावेश गरेका छन् ।

कांग्रेससहितको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिएका सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी दिएका छन् ।

त्यसै गरी सापकोटा समूहबाट महिला सदस्यमा पवित्रा तामाङ र खुला सदस्यहरूमा विकास गुरुङ, भुवन बहादुर खड्का, दिनेशप्रसाद तिम्सिना, सागर राई, छाप्ते लामा, विश्व दाहाल, सुमन अर्याल र राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
यता पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारी प्रतिष्पर्धामा उत्रिएका छन् ।

पाण्डे समूहबाट महिला सदस्यमा सृष्टि भण्डारी र खुला सदस्यहरूमा अम्बिर बहादुर गुरुङ, माधवकुमार धमला, विनोद कुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिव प्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पु छिरिङ ल्होमी (भोटे) ले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार हुने निर्वाचनका लागि दुवै समूहले मतदाताहरूलाई तीव्र लबिङ गरिरहेका छन् । दुवै जना लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेका र समस्या तथा अवसरका बारेमा जानकार छन् । ट्रेकिङ व्यवसायमा देखिएका समस्या समाधान गर्न र व्यवसायी तथा ट्रेकिङ मजदुरका हितमा गर्ने गर्ने दुवै पक्षले दाबी गरेका छन् ।

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटकहरू अन्यत्र डाइभर्ट भएको भन्दै भ्याट हटाउन सके गन्तव्य सस्तो बन्ने र पर्यटकहरू नेपाल आउने भन्दै सापकोटा समूहले भ्याट खारेजीको विषयलाई बढी महत्वका साथ उठाइरहेको छ ।

पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको भ्याट खारेज गर्न पनि पहल गर्ने दुवै उम्मेदवारले आफ्नो एजेन्डामा प्रस्तुत गरेका छन् । हवाई टिकटमा भ्याट लगाउँदा पर्यटकहरू अन्यत्र डाइभर्ट भएको भन्दै भ्याट हटाउन सके गन्तव्य सस्तो बन्ने र पर्यटकहरू नेपाल आउने भन्दै सापकोटा समूहले भ्याट खारेजीको विषयलाई बढी महत्वका साथ उठाइरहेको छ ।

सोमबार एलिस रिसेप्सन गैरीधारामा हुने निर्वाचनमा भाग लिन निर्वाचन समितिले सदस्य एजेन्सी सञ्चालक रहेको पुष्टि हुने कम्पनी दर्ता प्रमाण पत्र वा सेयर धनी खुल्ने प्रमाणपत्र जस्ता आधिकारिक प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । यसको साथै आफ्नो परिचय पत्रमा नेपाल सरकारबाट जारी भएको फोटोसहितको नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, निर्वाचन आयोगबाट जारी भएको मतदान परिचय पत्र वा राहदानी मध्ये कुनै एकको सक्कल प्रति नै लिएर आउन आग्रह गरेको छ । सक्कल प्रति नल्याई मोबाइलमा भएका फोटो देखाएर मतदानमा सहभागी हुन नपाइने पनि समितिले जानकारी दिएको छ ।

दुई वर्षे कार्यकालका हुने नयाँ कार्यसमिति २०२४ को सेप्टेम्बरदेखि २०२६ को सेप्टेम्बरसम्म कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?