कांग्रेसले निर्वाचनमा एक्लै लड्ने गरी संगठन निर्माण गर्ने, विश्वप्रकाशको ‘एक्जिट पोलिसी’ अहिलेलाई थाती

लोकपथ
476
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीै एक्लै चुनाव लड्ने गरी संगठन निर्माण गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न केन्द्रीय समिति बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्नेगरी संगठन निर्माण लाग्ने निर्णय गरेको बताए ।

महामन्त्री गगनकुमार थापाले गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका आधारमा सो निर्णय गरेको बताए । महामन्त्री थापाको प्रतिवेदनमा अनुसार निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने लगायत समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनबारे गहन छलफल भएको बताउँदै महतले भने, ‘अहिले पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने । पार्टीलाई एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर पार्टीको लोकप्रीयतालाई विस्तार गरेर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्ने तर्फ नै यो निर्णय केन्द्रित भएको छ ।

‘त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा राखेको एक्जीट पोलिसी सम्बन्धी प्रतिवेदनबारे अहिले नै उक्त विषयमा निर्णय गर्न आवश्यक नरहेको निष्कर्ष बैठकले निकालेको बताए । उक्त विषय संविधानसँग समेत जोडिएको भन्दै पछि पार्टीले आवश्यक निर्णय गर्ने निष्कर्ष निकालेको उनले बताए । उक्त प्रस्ताव अनुसार राष्ट्रपति, प्रधानमन्त्री मन्त्री र सांसदहरुको समेत कार्यकाल तोकिने लगायतका व्यवस्था रहेको थियो ।

‘अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जीट पोलिसीका सम्बन्धमा पनि छलफल गर्दा अहिले नै यस विषयमा निर्णय गर्न आवश्यक केन्द्रीय समितिले ठानेन र यससम्बन्धमा यो संविधानको विषयवस्तु हो । र हाम्रो पार्टीको मात्रै कुरा पनि भएन र समग्र संविधानमा व्यवस्था भएको हुनाले संविधान संशोधनका क्रममा यस विषयमा कसरी जानुपर्छ भनेर हामी छलफल र निर्णय गर्न सक्छौँ भनेर त्यस किसिमबाट हामीले निर्णय गरेका छौँ,’ उनले भने ।

महामन्त्रीद्वयको प्रस्तावबारे केन्द्रीय समिति बैठकमा व्यापक विरोध आएपछि चरणबद्ध रुपमा छलफलहरु भएका थिए । तर उक्त प्रतिवेदन पारित भएमा प्रधानमन्त्रीका लागि तयार रहेका सभापति शेरबहादुर देउवा नै अप्ठ्यारो पर्ने भएपछि उक्त विषयलाई कांग्रेसले थाती राखेको हो ।

त्यस्तै महासमिति बैठकमा प्रस्तुत भएका धेरै प्रस्तावहरु भने परिमार्जनसहित पारित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?