ग्राहकले डिपोजिट गरेको रकम एभरेष्ट बैंकले खान खोजेपछि …

साँढे तीन महिनापछि ब्रान्च म्यानेजरले माफी माग्दै दिए रकम

काठमाडौं । पैसा सुरक्षित राख्ने थलो हो बैंक । अझ क वर्गको बैंक भनेपछि त सुरक्षाको कुनै चिन्ता नै भएन । तर यही क वर्गकै बैंकले ग्राहकले डिपोजिट गरेको पैसा नै खान खोज्यो भने के होला ?

हो, यस्तै भएको छ । क वर्गकै बैंक एभरेष्ट बैंकले एक ग्राहकले डिपोजिट गरेको ५० हजार रुपैयाँ खाने प्रपञ्च गरेको खुलेको छ । एभरेष्ट बैंकको बालाजु शाखाले एक ग्राहकले डिपोजिट गरेको ५० हजार रुपैयाँ ग्राहकको खातामा नहाली गुपचुप राखेको पाइएको छ । 

बागबजारमा छापाखाना सञ्चालन गर्ने प्रदीप घतालले गत वैशाख ३१ गते संगिता रिमाल (परिवर्तित नाम)को खाता नम्बर ०१०००५XXX०५४०९ मा ५० हजार रुपैयाँ डिपोजिट गरिदिए । भुक्तानी गर्नुपर्ने रकम घताल आफैँ एभरेष्ट बैंकको बालाजु शाखामा गएर रिमालको खातामा नगद डिपोजिट गरिदिएका थिए । रकम जम्मा गरेपछि भौचर लिएर घताल घर फर्किए ।

बैंकको काउन्टरमै गएर रकम जम्मा गरेपछि खातामा डिपोजिट नहोला भन्ने घतालले कल्पनासम्म गरेनन् । जसको खातामा रकम जम्मा भएको थियो, उनीलाई रकम जम्मा भएको जानकारीसमेत गराएका थिए । 

तर रकम जम्मा भएको ३ महिना १५ दिनपछि घताललाई फोन आयो खातामा रकम जम्मा भएको नै छैन भनेर । साँढे तीन महिनापछि रकम जम्मा नै नभएको भनेर आएको फोनले घताल अचम्मित भए । आफैँले बैंकको काउन्टरमा गएर गरेको डिपोजिट खातामा जम्मा नभएको भन्दा उनले पत्याएनन् । त्यसपछि खातावालालाई नै फेरि एक पटक चेक गर्न र स्टेटमेन्ट ल्याउन भने । तर बैंकको स्टेटमेन्ट प्रिन्ट गरेर ल्याउँदा पनि वैशाख ३१ गते डिपोजिट गरिएको ५० हजार रुपैयाँको हिसाब देखिएन । त्यसपछि प्रदीप एभरेष्ट बैंकको बालाजु शाखामै पुगेर रकम जम्मा नभएको कुरा राखे । 

बैंकले खारेज गर्‍यो रकम जम्मा नभएको ग्राहकको गुनासो

ग्राहकले खातामा रकम जम्मा नभएको गुनासो गर्दा एभरेष्ट बैंकको बालाजु शाखाका ब्रान्च म्यानेजर क्षितिज पराजुलीले सुरुमा घतालको गुनासो ठाडै खारेज गरिदिएको घतालले लोकपथलाई बताए । बैंकमा रकम जम्मा गरेपछि ग्राहकको खातामा नजाने प्रश्नै नआउने भन्दै खातामा नगए वा हिसाब नमिले बेलुका नै थाहा हुने भन्दै त्यस्तो हुनै नसक्ने भन्दै घताललाई उल्टै जवाफ फर्काए । 

तर आफैँ बैंकको काउन्टरमा गएर रकम जम्मा गरेको र जसको खातामा रकम जम्मा गरिएको हो, उसको स्टेटमेण्टमा रकम नदेखिएको भन्दै घतालले ग्राहकको स्टेटमेन्ट नै देखाए । तर ब्रान्च म्यानेजर पराजुली स्टेटमेण्टमा सन्तुष्ट भएनन् । अनि डिपोजिट भौचर ल्याउन भन्दै अर्को दुख दिन खोजेको घतालले लोकपथलाई बताए । 

तर घतालले त्यति बेलासम्म डिपोजिट भौचर सुरक्षित राखेका थिएनन् । आफूसँग भौचर नभएको तर आफू नै बैंकको काउन्टरमा आएर रकम डिपोजिट गरिदिएकाले एक पटक सिसिटिभी फुटेज हेरिदिन आग्रह  गरे । तर ब्रान्च म्यानेजरले पुरानो सिसिटिभी फुटेज हेर्न नसकिने बताए । 

तर घताल थाक्ने पक्षमा थिएनन् । आफैँ बैंकमा उपस्थित भएर गरिएको डिपोजिट गायब भएको पाएपछि घतालले ब्रान्चले खोजबिन नगरे आफूले उजुरी गर्ने बताए । त्यसपछि बल्ल ब्रान्च म्यानेजरले ‘ल हामी हेरेर बेलुकासम्ममा खबर गर्छौँ’ भने । 

… अनि माफी माग्दै ब्रान्च म्यानेजरले फोन गरे

घताल बैंकबाट घर गए । भदौ १४ गते शुक्रवार बेलुका एभरेष्ट बैंक, बालाजु शाखाका ब्रान्च म्यानेजर क्षितिज पराजुलीको फोन आयो । उक्त दिन घतालले रकम डिपोजिट गरेको तर खाता नम्बरमा उल्लेख भएको अन्तिम नम्बर कन्फ्युज भएको कारण रकम डिपोजिट हुन नसकेको भन्दै माफी मागे । अनि तत्कालै रकम डिपोजिट गरिदिएको बताए । 

डिपोजिट गरेको साँढे तीन महिनापछि ग्राहकको खातामा बैंकले रकम हालिदिएको म्यासेज ।

कस्तो हुन्छ बैंकिङ सिस्टम ?

खासमा कहिलेकाहीँ ग्राहकले डिपोजिट भौचर भर्दा वा बैंकका कर्मचारीले खाता नम्बर इन्ट्री गर्दा फरक पर्न सक्छ । त्यस्तो अवस्थामा नाम र नम्बर नमिले खातामा रकम जम्मा नै हुन सक्दैन । खाता नम्बर र नाम फरक परेमा उक्त रकम डिपोजिट गर्न नै मिल्दैन र बैंकका कर्मचारीले ग्राहकको नाम र खाता नम्बर अनिवार्यरूपमा हेर्नुपर्ने हुन्छ । तर एभरेष्ट बैंकको बालाजु शाखाले ग्राहकसँग लिएको ५० हजार रुपैयाँ न जसको खातामा जम्मा गरिएको थियो, उसको खातामा हालिदियो, न त डिपोजिट गर्ने व्यक्तिलाई नै सम्पर्क गर्‍यो । डिपोजिट गर्ने व्यक्तिलाई सम्पर्क गर्न उनको नम्बर नभएको पनि होइन, घतालले आफ्नो मोबाइल नम्बर नै डिपोजिट भौचरमा उल्लेख गरेका थिए, जसको ओरिजिनल कपी बैंकले नै राखेको हुन्छ । 

बैंक भन्छ, ‘के भएको हो भनेर तपाईँलाई भन्न मिल्दैन’

ग्राहकले बैंकमै गएर नगद डिपोजिट गरेको ५० हजार रुपैयाँ साँढे तीन महिनासम्म के कसरी गायब भयो भन्ने विषयमा एभरेष्ट बैंकको बालाजु शाखासँग कुरा गर्दा ब्रान्च म्यानेजर पराजुलीले ‘त्यो कुरा तपाईँलाई भन्न मिल्दैन’ भन्दै ‘उहाँलाई नै पठाइदिनुहोस्’ भन्ने जवाफ दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?