मलेसियाका प्रस्तावित राजदूतलाई बिचौलियासँग डर

लोकपथ
84
Shares

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । 

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीति अन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए । 

‘मलेसिया र नेपालमा म्यानपावर बीचमा काम गर्ने बिचौलियाहरु हुन्छन् । बिचौलियाले सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क दिँदैनन् । मलेसियामा जताततै बिचौलिया हुन्छन् भन्ने सुनेको छु । जताततै ठग्ने काम गर्छन् रे,’उनले भने, ‘राजदुतहरुले पुलिस लगाएर लखेट्नुपर्छ रे । म एकदमै अफ्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भइस्, आइज भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमानदारितापूर्वक काम गर्ने हो । राज्यले सहयोग गर्‍यो र श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ ।’

उनले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । 

यस्तै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए । नेपाल इजरायलबीच सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्ने पनि उनको भनाई छ । 

त्यस्तै,पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले नेपाल र पाकिस्तानबिच उच्च राजनीतिक स्तरको भ्रमणका लागि पहल गर्ने, नेपालको संघीय संसद् र पाकिस्तानको आपसी सम्बन्ध विस्तारमा भूमिका खेल्ने प्रतिवद्धता जनाइन । 

पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले पनि आफ्नो कार्ययोजना पेस गरेका छन् । 

उनले आफ्नो कार्ययोजना पेस गर्दै पोर्चुगलमा पहिलो पटक नेपालको आवासीय राजदूतावास स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?