काठमाडौं । गत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि नायव महानिरीक्षक (डीआईजी) सम्मका ८९ प्रहरी अधिकारीहरु एकसाथ अवकाशमा गएपछि त्यसको असर विभिन्न प्रहरी कार्यालयमा परेको छ । डीआईजी प्रमुख हुने कार्यालयसमेत प्रहरी उपरीक्षक (एसपी) को भरमा चल्न थालेपछि सोमबार बेलुकी मात्र रिक्त ठाउँमा डीआईजीको काज सरुवा गरिएको छ । कतिपय कार्यालय वरिष्ठ उपरीक्षक (एसएसपी) विहीन बनेका छन् ।
यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरमा हुने ठूला अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मेवारी रहेको अपराध अनुसन्धान कार्यालयका तीन वटा पिलरहरू नै अहिले प्रमुखविहीन बनेका छन् । ती पिलरको प्रमुख डीएसपी हुने व्यवस्था रहेको छ । वैदेशिक रोजगारसम्बन्धी ठगीको अनुसन्धान गर्ने पिलरका प्रमुख गोविन्द पन्थी, डाँका चोरीको अनुसन्धान गर्ने पिलरका प्रमुख किरण न्यौपाने र प्रशासन शाखाका प्रमुख ऐनबहादुर मल्ल ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाशमा गएपछि ती पिलर नेतृत्वविहीन बन्न पुगेको हो ।
यी तीन पिलरमध्ये वैदेशिक रोजगारी सम्बन्धी ठगीको पिलरमा बढी चाप हुने गर्छ । प्रमुख नहुँदा केही समस्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत बताउँछन् । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई भने यी महत्वपूर्ण पिलरले चाँडै नै प्रमुख पाउने विश्वास व्यक्त गर्छन् । प्रहरी प्रधान कार्यालयले हिजो सोमबार मात्रै ५८७ प्रहरी निरीक्षकको सरुवा गरेको गरेको छ । अब डीएसपीको सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । डीएसपी सरुवाका क्रममा ती पिलरले पनि प्रमुख पाउने छन् । यसका लागि अझै दुई साता बढी कुर्नुपर्ने एक प्रहरी अधिकारी अनुमान गर्छन् । तर अपराध अनुसन्धान जस्तो संवेदनशील पिलरमा जतिसक्दो चाँडो डीएसपीहरु पठाउनुपर्ने अधिकृतहरु बताउँछन् ।
उता, डीआईजी प्रमुख रहने प्रहरी कार्यालयहरु एसपीको कमाण्डमा चल्ने अवस्था आएपछि हिजो मात्र त्यस्ता कार्यालयमा काजमा डीआईजी खटाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविकुमार पौडेल एकसाथ अवकाशमा गएपछि सो कार्यालय एसपी दुर्गाराज रेग्मीको कमाण्डमा चलेको थियो । सो ठाउँमा डीआईजी कृष्णहरि शर्मा पोखरेललाई काजमा पठाइएको छ । त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथको प्रमुखमा डीआईजी रहने व्यवस्था छ ।
तर सो कार्यालय पछिल्लो पटक एसपीको कमाण्डमा चलेको थियो । डीआईजी पोषराज पोखरेल ५६ वर्षे उमेरहदका कारण २१ असारमा अवकाशमा गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी जीवनकुमार श्रेष्ठ थिए । उनी समेत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि सो कार्यालयको निमित्त प्रमुखको जिम्मा एसपी विश्वराज खड्काले पाएका थिए । अहिले सो ठाउँमा डीआईजी भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ । यसैगरी रामदत्त जोशी एआईजीमा बढुवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी एसएसपीले पाएका थिए । सो ठाउँमा डीआईजी किरण राणालाई काज सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया