राजदूत नियुक्तिबारे प्रश्न उठेपछि परराष्ट्रमन्त्री राणाले के भनिन् ?

लोकपथ
189
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिबारे स्पष्टीकरण दिएकी छिन् ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा बोल्दै मन्त्री राणाले राजदूत नियुक्तिको विषयमा उठेका प्रश्नको जवाफ दिएकी हुन् । साथै उनले भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत उठेका प्रश्नको जवाफ दिइन् ।

बैठकमा बोल्दै सांसद एकनाथ ढकालले राजदूत नियुक्ति विवादरहित हुन नसकेको भन्दै आगामी कार्ययोजना माग गरेका थिए ।

सांसद ढकालको प्रश्न थियो, ‘राजदूत नियुक्ति विवादरहित हुन सकेको छैन, निर्देशिकाअनुसार राजदूत नियुक्ति गर्न आगामी दिनमा कस्तो कार्ययोजना छ ?’

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालको हित सुनिश्चित हुने गरी मात्रै अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्नेगरी राजदूत नियुक्त गर्ने गरेको बताए ।

मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताइन् ।

‘नेपाल सरकारले मुख्यतः राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कूटनीतिलाई सञ्चालन गर्दै आएको छ’, उनले भनिन्, ‘नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको छ । मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध छ ।’

त्यसैगरी संविधानको मर्म र राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई मुल आधार बनाई सरकारले राजदूत नियुक्त गर्ने गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?