लेखा समितिको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको छ ।

लेखा समितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आईपिओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो । लेखा समितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए ।

‘लेखा समितिले धितोपत्र बोर्डलाई विसं २०८० पुस १२ गते ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको र यसले पुँजी बजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै विषयमा अर्थ समितिमा उजुरी परेको छ । धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिन्छ, ’समिति सभापति चालिसेले आजको बैठकमा बताए ।

पछिल्लो समय अधिकांश कम्पनीले ‘प्रिमियम’ मूल्यमा आईपिओ जारी गर्ने गरेका छन् । प्रिमियममा आईपिओ जारी गर्न दिँदा बोर्डको तजविजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखा समितिको निर्देशनमा उल्लेख छ ।

त्यसैगरी अर्थसमितिको आजको बैठकले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्तावको छलफल सकेको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?