काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिको समयावधी १५ दिन थप गरिएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद एवं समितिका सभापति सूर्यबहादुर थापाले छानबिनका लागि समय अपुग भएको भन्दै समय थप गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मतीले पारित गरेको हो ।
सहकारी ठगी प्रकरणमा छानबिनका लागि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर आवाज उठाएपछि ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जेठ १५ गते गठन गरिएको उक्त समितिको कार्याअवधि आगामी भदौ २२ गते सकिँदैछ ।
बैठकमा संयोजक थापाले हालसम्म समितिले आफ्नो कार्यादेशभित्र रही ५१ वटा बैठक बसेको सभालाई जानकारी गराए ।
त्यस्तै सहकारीको रकम हिनामिनामा आरोपित भनिएका ५० जना व्यक्तिहरुसँग सोधपुछ गरिसकिएको समेत उनले बताए ।
सहकारी ठगीको यथेष्ट प्रमाण जुटाउनका लागि आफ्नो कार्यादेश अनुसार संघ प्रदेश र स्थानीय तहका विभिन्न पक्षहरुसँग समन्वय गरिएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया