बन्दै गरेको घरमा पानी नराखेको निहुँमा घर झगडा, विष खुवाएर दुई छोरी मार्ने आमा पक्राउ

लोकपथ
1.1k
Shares

विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई नाबालिका छोरीलाई विष खुवाएर हत्या गरेपछि बेपत्ता भएकी महिलालाई प्रहरीले झापाको बिर्तामोडबाट फेला पारी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

शनिबार दिउँसो साढे ४ बजे एकै ठाउँमा अंगालो मारेको अवस्थामा १ र ३ वर्षीया छोरीको शव फेला परेपछि प्रहरीले मृतकका आमा २९ वर्षीया अस्मिता पौडेलको व्यापक खोजी गरेको थियो । घटनास्थलमा सफाया– ५ नामको बिषको बोत्तल पनि भेटिएकाले आमाले नै बिष ख्वाएर मारेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो ।

उनी मरेको हुनसक्ने आशंकामा घटनास्थल नजिकको जंगल क्षेत्रमा पनि प्रहरीले व्यापक खोजी गरेको थियो । अन्ततः उनलाई बाटोमा हिँडिरहेको अवस्थामा विक्षिप्त अवस्थामा मंगलबार दिउँसो बिर्तामोड सडकबाट प्रहरीले फेला पारेको हो ।

उनी मानसिक रुपमा विक्षिप्त अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘बेपत्ता भएकी आमालाई विर्तामोडमा हिडिरहेको अवस्थामा फेला पारेर ल्याएका छौं’, मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

अहिले कोशी अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ । उपचारपछि घटनाको सत्यतथ्य खोज्ने प्रहरीले जनाएको छ । ती बालिकाको शव सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र भेटिएको थियो ।

अस्मिता पौडेल र उनका पति अर्जुन कार्की सुन्दरहरैचा नगरपालिका–७ स्थित मालती टोलमा बस्दै आएका थिए । धनकुटा पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका उनीहरुले त्यहाँ आफ्नो घर पनि बनाउँदै गरेका थिए । अर्जुन भने इटहरी–भोजपुर ट्याक्सी चलाउँछन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने बितिकै श्रीमती अस्मितासँग उनको विवाद भएको थियो । विवादको कारण भने बन्दै गरेको घरमा पानी नहाल्नु ।

विवादपछि अस्मिता दुई छोरीहरू अर्पणा र आइकालाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् । उनी घरबाट निस्किएको राति नै अस्मिताले अर्जुनलाई ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै उनले खोजी गरेका थिए । तर नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?