हेटौंडा । १५ वर्षकै उमेरमा अन्तरजातीय विवाह गरेकी हेटौंडाकी एलिसा भनेर चिनिने अलिसा न्यौपाने गत १० भदौमा मकवानपुरको हेटौंडास्थित एक होटलमा मृत अवस्थामा फेला परिन् । विवाहको केही समयपछि नै श्रीमान्को परिवारसँग उनको खटपट सुरु भयो । अन्ततः त्यो खटपटले उनको ज्यान नै लियो । अर्थात् विवाह भएको ७ वर्षपछि उनकै श्रीमानको हातबाट उनले यो संसार छाड्नु पर्यो ।
हत्याको मुख्य आरोपी हेटौंडा–४ कमलाडाँडा निवासी उनकी श्रीमान समिर खाँन भनिने ३२ वर्षीय चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा आफू दोषी रहेको खाँनले स्वीकार गरिसकेका छन् । उनले हेटौंडा–१० बसपार्कस्थित रत्ना होटलमा एलिसाको हत्या गरेका थिए ।
समिरलाई हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
९ भदौमा समिरसँगै बा ६४ प १३५ नम्बरको स्कुटर चढेर एलिसा उक्त होटल पुगेकोमा त्यही रात उनको हत्या भयो । भोलिपल्ट १० भदौको बिहान अबेरसम्म कोठामा बसेकी युवती नउठेपछि होटल सञ्चालकले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक भण्डारी नेतृत्वको टोलीले जनप्रतिनिधिसमेतको रोहबरमा उक्त कोठा फोडी हेर्दा एलिसाको शव रगतले लतपत्तिएको अवस्थामा फेला परेको थियो ।
घटनास्थलबाट शुरु भएको प्रहरीको अनुसन्धान एक सातापछि सफल भएको छ । प्रहरीले समिरका ५५ वर्षीया आमा सैरुन खान, बुबा ५६ वर्षीय लालबाबु खाँ पैठान, जेठी श्रीमती २६ वर्षीय रविना खातुन, दाजु ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।
एलिसा ९ वर्षको हुँदा उनको आमाले अर्को विवाह गरिन् । हजुरबुबा, हजुरआमा र बुबा किरणसँग उनी र उनका भाइ बस्दै आए । बुबा किरण मादक पदार्थ अत्यधिक सेवन गर्थे । आमाले अर्को विवाह गरेको केही वर्षपछि हजुरबुबा र हजुरआमाको मृत्यु भयो । त्यसको ६ वर्षपछि बुबा किरणको पनि मृत्यु भयो । नाबालिग एलिसा र उनको भाइमात्रै बाँकी रहे । बालबालिकालाई फुपाजु गणेशले पाल्ने र पढाउने गर्दै आए ।
हेटौंडा–११ निवासी एलिसा र हेटौंडा–४ कमलडाँडाका समीर खान ७ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए । एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ ।
जसमा समीरले आफूबाटै एलिसाको हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ । समिरले एलिसाको भाइसँग ह्वाट्सएपमा भनेका छन् ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं ।’
आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ,’ खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेको छ ।
परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो । समीरले एलिसालाई घरमा लगेपछि परिवारसँग झगडा परेको थियो । घर झगडाको दृश्य एलिसाको मोबाइलबाट खिचिएको थियो । एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ ।
घर झगडाको क्रममा समीरकी आमाले ‘यसलाई जहाँबाट ल्याएको त्यहीं लगेर मार्नु’ भन्ने शब्द प्रयोग गरेकी छिन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । मिडियालाई प्राप्त भ्वाइस रेकर्ड र भिडिओ रेकर्डमा उनलाई घरका आफन्तले नै मार्ने धम्की दिएका छन् । त्यसै रात एलिसाको मृत्यु भएको थियो ।
अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेको थियो । ‘त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनाबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्ने छौं,’ डिएसपी भण्डारीले भने ।
एलिसा र उनका भाइ सानै हुँदा आमाले दोस्रो विवाह गरिन्, बाबुको मृत्यु भयो । एलिसाका फुपाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षा दिए । १५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरिन् । समीरसँग भागेर पोखरा पुगेकी उनी उतै होटल चलाएर बसिन् । बिहेपछि एलिसा फुपाजु गणेशको घरमा पनि खासै आउजाउ गरिनन् । यता समिरले पनि घरमा कहिलेकाहीँ लैजाने र बाहिरै अल्झइरहे । ‘पोखरामा पसल गरेर बसेको छु भनेर फोनमा कुरा हुन्थ्यो, विहे पछि मेरो घर २–३ पटकमात्रै आए,’ गणेश भन्छन् ।
यता समीरको पहिले नै विवाह भइसकेको रहेछ । श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएकोले यसबारेमा पनि एलिसा–समीरबीच बेलाबेला खटपट हुने गरेको खत्रीको दाबी छ ।
पोखराको पसल छाडेर केही समय समीरले एलिसालाई हेटौंडाको घरमै राखे । सुरुआती दिनमा दुबै श्रीमती मिलेर बसेको खत्रीले बताए । तर पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गइन् ।
दुबइमा बस्दा एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् । ‘मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो, अब मेरो भन्नु कोही छैन,’ भाइले भने । दोषीलाई कडा कारबाही हुनुपर्ने उनका भाइको माग छ । उनी हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् ।
केही महिनाअघि नेपाल आएकी एलिसालाई गत ९ भदौमा समिरले हेटौंडा घरमा बोलाए । सोही राति होटलमा लगेर हत्या गरी फरार बनेको प्रहरी अनुसन्धानबाट देखिएको हो । होटलको सीसीटीभी फुटेजमा समिर र एलिसा एकसाथ होटलमा प्रवेश गरेको तर राति ९ बजे समिर एक्लै निस्किएको देखिएको छ । समिरले बियरको बोटलले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अर्को बलियो सबुतको रुपमा समिरले एलिसाका भाइलाई पठाएको म्यासेजलाई लिइएको छ । जुन म्यासेजमा समिरले आफ्नो हातबाट एलिसाको मृत्यु भएको र आफू सजाय भोग्न तयार रहेको बताएका छन् । दुई जनाको झगडाका क्रममा हानाहान भएको र अञ्जानमा एलिसाको ज्यान गएको उनको दावी छ । यो म्यासेज उनले केहीबेरमा अनसेन्ड गरेका थिए ।
एलिसाको भाइलाई समिरले लेखेको म्यासेज
बस्, अन्जानमा ज्यान गयो गल्तीले हात हालाहाल गर्दा । म यो कुराले पागल भइसकेँ । मलाई त्यो टाइम झलझल आँखामा आइराखेको छ । पहिले राम्रो कुरा भाको थ्यो । पछि पहिलेको कुरा निस्केर डिस्कस भयो । मुख छाडाछाड अनि दुवै जनाले हात हालाहाल भयो । उसले नि हान्यो मैले नि हानेँ । अनि हान्दा खेर ज्यान गयो । मैले कति उठाउन खोजेँ । तर ज्यान गइसकेको रहेछ । आईएम सरी भाइ । जे भए पनि मेरो हातबाट त गाको छ नि, मैले कहिले माफ पाउँदिन आफैंबाट । म आफैं चौकी पनि आउँदैछु । जे–जे सजाय भोग्नुपर्छ म भोग्छु । त्यो राम्रो वा नराम्रो जे थ्यो मेरो हातबाट त पाप भयो नि । म हेटौंडा आइराछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया