नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु, अस्वस्थकर जीवनशैली नै मुख्य कारण

लोकपथ
28
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेको छ । जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो । हरेक वर्ष ७० वर्ष नपुग्दै एक करोड ७० लाख मानिसको नसर्ने रोगबाट मृत्यु हुने गरेको छ । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् ।

कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारण अस्वस्थकर जीवनशैली नै देखिएको छ । सुर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदुषणले नसर्ने रोग निम्त्याउन अहं भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घरोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन् । उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ ।

मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराई भन्छन्, ‘वंशाणुगतबाहेक जग फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ । सन्तुलित भोजनको कमी, गुलियो पेय पदार्थले चिनी रोग बढिरहेको देखिन्छ । यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन् ।’

उनले नसर्ने रोग लाग्न नदिन विद्यालय स्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताए । नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ ।

नसर्ने रोग यदि प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क/वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले धुमपान, मद्यपान, शारीरिक निष्क्रियता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताए ।

उनले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताए । डा थापा भन्छन्, ‘समुदाय स्तरमा नसर्ने रोगको पहिचान, स्क्रीनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो । पाठेघर क्यान्सर स्क्रीनिङ तथा एचपिभी खोप पनि सरकारले सुरु गरिसकेको छ । त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोर किशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न पेन प्लस कार्यक्रम पनि ल्याएका छौँ । त्यो छ जिल्लामा लागू भएको छ । नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता रहेको छ ।’

मुटरोग विशेषज्ञ डा. कोजुले स्वस्थ जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने धारणा राखे । ‘मोबाइल हेर्ने बानीले एकोहोरिने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ । स्वस्थकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ । गुलियो पेयपदार्थ कम खाने । व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ,’ डा कोजु भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?