प्रधानमन्त्रीविरुद्ध जथाभाबी लेख्ने रमेश रावत ५० हजार धरौटीमा रिहा

प्रतिवादीले भने ‘त्यसरी लेख्न हुँदैन भन्ने थाहा थिएन’

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूलाई सामाजिक सञ्जाल फेसबुकमा जथाभाबी लेख्ने रमेश बहादुर रावत धरौटीमा थुनामुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले रावतलाई मङ्गलवार ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले रावतसँग ५० हजार धरौटी माग गरेका थिए । रावतले अदालतमा ५० हजार रुपैयाँ धरौटी बुझाएपछि उनी थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्ने भएका हुन् ।

अजित कुमार लामाको जाहेरीका आधारमा साइबर ब्युरोले रावतलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानपश्चात् रावतलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको मागदाबी लिई जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

भएको के थियो ?

सामाजिक सञ्जाल फेसबुकमा फेसबुक पेज Ramesh Rawat official बाट साउनको अन्तिमतिर प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका व्यक्तिहरूको एआई बाट बनाइएको तस्बिर समेतको प्रयोग गरी सार्वजनिक मर्यादा विपरीत गालीगलौज र विभिन्न आरोपहरू लगाइएको थियो । रावतले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो एआईबाट तयार पारी ‘यही हो देश लुट्ने’ ‘सही हो कि गलत साथीहरू ?’ तथा आरजु राणा देउवाको तस्बिर तयार पारी ‘भष्ट्राचारकी कुल देवी’ र शेर बहादुर देउवाको फोटो तयार पारी ‘भ्रष्ट्राचारका महादेव’ लगायतका शब्द प्रयोग गरी सार्वजनिक शिष्टाचार विरुद्धका कार्य गरेका थिए ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालाीगलौज र सार्वजनिक शिष्टाचार विरुद्ध हुने सामाग्री प्रकाशन भएपछि अजित कुमार लामाले प्रहरीको साइबर ब्युरोमा उजुरी गरेका थिए ।

उजुरी आए लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले यस्तो अनर्गल प्रचार र सार्वजनिक शिष्टाचार विरुद्धको कार्यमा संलग्न व्यक्ति रमेश बहादुर रावत रहेको जानकारी पाए लगत्तै उनलाई तत्कालै पक्राउ गरिएको थियो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ घर भई सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको कि स्टोन अस्पतालमा सिएमए पदमा कार्यरत २१ वर्षीय रमेश बहादुर रावतलाई सिन्धुपाल्चोक प्रहरीको समन्वयमा साउन ३२ गते नै पक्राउ गरिएको थियो ।

खानतलासी गर्ने क्रममा प्रहरीले रावतको रियलमी कम्पनीको मोबाइलमा सोही फेसबुक लगइन अवस्थामा रहेको तथा मोबाइलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर समेतको साथमा ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू ?’ ‘भष्ट्राचारकी कुल देवी, भ्रष्ट्राचारका महादेव’ लगायतका शब्दहरू लेखिएको फोटो र स्क्रिनसट समेत पाइएको थियो ।

पक्राउपश्चात् खानतलासी गर्ने क्रममा प्रहरीले रावतको रियलमी कम्पनीको मोबाइलमा सोही फेसबुक लगइन अवस्थामा रहेको तथा मोबाइलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर समेतको साथमा ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू ?’ ‘भष्ट्राचारकी कुल देवी, भ्रष्ट्राचारका महादेव’ लगायतका शब्दहरू लेखिएको फोटो र स्क्रिनसट समेत पाइएको थियो । त्यस लगत्तै रावतलाई पक्राउ गरी भोटाहिटीस्थित साइबर ब्युरोमा ल्याइएको थियो ।

प्रतिवादीले भने ‘त्यसरी पोस्ट गर्नु हुँदैन भन्ने थाहा थिएन’

अनुसन्धानका क्रममा प्रतिवादी रमेश बहादुर रावतले सामाजिक सञ्जालमा त्यसरी पोस्ट गर्नु हुँदैन भन्ने कुरा आफूलाई थाहा नभएको र अञ्जानमा गल्ती भएको स्वीकार गरेका थिए

पक्राउपछि अनुसन्धानका क्रममा प्रतिवादी रमेश बहादुर रावतले सामाजिक सञ्जालमा त्यसरी पोस्ट गर्नु हुँदैन भन्ने कुरा आफूलाई थाहा नभएको र अञ्जानमा गल्ती भएको स्वीकार गरेका थिए । आफ्नो फेसबुक पेजमा बालेनको फोटो राखेका रावतले आफूले ती फोटोहरू पनि अन्यत्रबाटै डाउनलोड गरेको र कानुनको अनभिज्ञताका कारण त्यस्तो पोस्ट गरेको बयान दिएका थिए ।

रावतको बयानको केही अंश यस्तो छ
‘… मेरो स्थायी वतन जिल्ला बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नं. ५ भए पनि कामको सिलसिलामा म हाल जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ४ बाह्रबिसे स्थितमा रहेको कि स्टोन अस्पतालको इमरजेन्सी कक्षमा र सोही अस्पतालको दियाना फार्मेसीमा Certified Medical Assistant (CMA) को काम गर्दै आइरहेको छु । म सामाजिक सञ्जाल फेसबुकमा Ramesh Rawat official नामको एकाउन्ट प्रयोग गर्दै आइरहेको छु ।’

‘… काठमाडौं महानगरपालिकाको मेयर तथा कलाकार बालेन शाहले काम गर्ने तरिका र उहाँको गीतहरु समेत रुचाउने भएकोले उल्लेखित दुई वटै पेजहरूले बालेन शाहको समर्थनमा एआईद्वारा बनाइएका पोस्टहरू हाल्ने भएकोले मैले उक्त पेजहरू फलो गरेको हुँ । सोही क्रममा, मैले आफ्नो फेसबुक चलाउँदै गर्दा, उक्त पेजहरूमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अन्य थुप्रै माननीय राजनीतिज्ञहरूको एआईद्वारा बनाइएका कार्टुन जस्ता तस्बिरहरू देखेको थिएँ । ती तस्बिरहरू हेर्दा हाँसो लाग्ने जस्तो भएकोले मैले डाउनलोड गरी आफ्नो मोबाइल फोनमा राखेको र मैले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक ….. बाट सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली (केपी शर्मा ओली) ज्युको तस्बिर समेतको साथमा, ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू ?’ ‘भ्रष्टाचारकी कुल देवी’, ‘भ्रष्टाचार का महादेव’ भन्ने लगायत अन्य विभिन्न शब्दहरू समेत लेखि पोस्ट गरी सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली (केपी शर्मा ओली) ज्यु लगायत अन्य माननीय ज्यूहरू समेतको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा र द्वेष फैलाउने कार्य गरी चरित्र हत्या समेत हुने कार्य गरेको हुँ । त्यसरी सामाजिक सञ्जालहरूमा सम्माननीय प्रधानमन्त्री ज्युको चरित्र हत्या हुने गरी तस्बिरहरू पोस्ट गर्न नहुने विषयमा म अनविज्ञ थिएँ । सोही विषयलाई लिई अजित कुमार लामाले म विरुद्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी, काठमाडौंमा निवेदन पेस गरेका रहेछन् र सोहीको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकले मलाई मिति २०८१।०४।३२ गते नियन्त्रणमा लिई नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी, काठमाडौंमा उपस्थित गराएको हो । कानुन बमोजिम भोग्न तयार छु ।’

यसरी प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेता तथा माननीय मन्त्रीहरू समेतको विरुद्धमा सामाजिक सञ्जालमा तुच्छ टिप्पणी र अपाच्य शब्दहरू प्रयोग गरी पोस्ट गरेपछि प्रहरीले रावतलाई पक्राउ गरेको थियो । १७ दिन थुनामा राखेर अनुसन्धान गरेपछि सरकारी वकिलले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा बुझाएको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १८ गते मङ्गलवार न्यायाधीश शिशिरराज ढकालको इजलासले रावतसँग ५० हजार धरौटी माग गरी थुनामुक्त गर्न आदेश दिएको हो ।

सरकार रावतलाई ५ वर्षसम्म कैद सजाय गर्न मागदाबी लिई अदालत पुगेको थियो । रावतलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै सोही दफाको उपदफा (१) बमोजिमको सजाय गर्न तथा सोही ऐनको दफा ५६ बमोजिम मोबाइल डिभाइस जफत गर्न अभियोग लगेको थियो ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७मा विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेमा हुने अपराध र सजायसम्बन्धी व्यवस्था छ ।

सोही ऐनको दफा ४७ को उपदफा १ मा ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम रावतलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको मागदाबी लिई अदालतमा मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?