काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुर सिमरा उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण रद्ध गरेको छ ।
उनी आगामी सेप्टेम्बर ९ देखि १३ सम्म अमेरिकाको एट्लान्टा र जर्जियोमा हुने Public financial management and fiscal Decentralization विषयमा Experiential Learning/Training visit कार्यक्रमका लागि छनोट भएकी थिइन् ।
गत जुलाइ १७ मा युएसएडले मन्त्रालयमा गरेको पत्र अनुसार मन्त्रालयले नै गत साउन ६ गते उनलाई मनोनयन गरेको थियो । तर भदौ १८ गते मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले उनको भ्रमण रद्ध गरेको जनाएको छ ।
उनको भ्रमण रद्ध हुनुमा राजनीतिक कारण रहेको प्रष्ट देखिन्छ । त्यसका लागी यसअघिका प्रपञ्चहरु हेर्दा पनि स्पष्ट हुन्छ ।
सर्वोच्च अदालतले गत साउन १० गते जीतपुर सिमराकी प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेकी काफ्लेलाई सरुवा नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
जिम्मेवारी सम्हालेको २ महिना नपुग्दै कानुन विपरित मापदण्ड मिचेर सरुवा गरिएको भन्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध रिट दायर गरेकी थिइन् ।
उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उनलाई नहटाउन आदेश दिएको थियो । उनी २०८१ साल वैशाख २८ गते मात्रै जीतपुर सिमराको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर गएकी थिइन् । सरकार फेरिएसँगै त्यहाँ प्रमुख प्रशासकीय अधिकृत फेर्ने खेल सुरु भएको थियो । वैशाख २८ गते मात्रै त्यहाँ गएकी काफ्लेलाई गत असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री भएपछि एमालेबाट निर्वाचित भएका उपप्रमुख नै उनलाई हटाउन लागि परेका थिए ।
गत निर्वाचनमा जीतपुर सिमराको प्रमुखमा माओवादीबाट राजन पौडेल र उपप्रमुखमा एमालेबाट भोलाप्रसाद अधिकारी निर्वाचित भएका थिए । उपप्रमुख अधिकारीले आफूले इच्छ्याएको व्यक्तिलाई उपमहानगरमा लैजान आफूसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरु लिएर मन्त्रीलाई दबाब दिएका थिए ।
एमालेबाटै सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्तालाई भेटेर काफ्लेलाई मन्त्रालय र उनको ठाउँमा चेतकुमार पोखरेललाई सरुवा गराउन उनीहरु सफल भएका थिए ।
त्यस्तै मन्त्रीको ठाडो आदेशमा जीतपुर सिमराका प्रमुख प्रशासकीयमा सरुवा भएका पोखरेल त्यसअघि नै त्यहाँको नेतृत्व सम्हालेका थिए । २७ महिना जीतपुर सिमराको प्रशासकीय प्रमुख जिम्मेवारीमा रहँदा पोखरेलले उपमहानगरको सरकारी टिपर प्रयोग गरेर तस्करीको सालको काठ ओसारपसार गरेको मुद्दा विचाराधीन रहेको छ ।
त्यसो त नगरप्रमुख राजन पौडेलले उनलाई (उर्मिला काफ्ले) नहटाउन आग्रह गर्दै मन्त्रालयलाई पत्र नै लेखेका थिए ।
मन्त्रालयले २/२ वर्षमा मात्रै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने नीति लिएको तर त्यसको मसी सुक्न नपाउँदै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनले अनावश्यक कर्मचारीको सरुवा गर्दा प्रशासनीक अस्थिरता देखिने अवगत गराएका थिए ।
सोही कारण पनि एमालेले रिस साध्नका लागि प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई कोपभाजनमा पारेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया