आमाद्वारा आफैँले विष खुवाएको स्वीकार

भनिन् : सुरुमा मैले विष खाएँ, छोरीहरु जंगलमै हुने भए भनेर त्यसपछि विष खुवाएँ

लोकपथ
126
Shares

विराटनगर । दुई नाबालिका छोरीलाई विष खुवाएर हत्या गरेको अभियोगमा पक्राउ परेकी मोरङ सुन्दरहरैँचा–७ मा बस्दै आएकी अस्मिता कार्कीले आफैले हत्या गरेको स्वीकार गरेकी छन् । सुरुमा आफूले विष खाएको बताएकी उनले आफू मरेपछि छोरीहरुको बिजोग हुने ठानेर आफैंसँग लैजाने भन्दै विष खुवाएको उनले बताएकी छन् ।

उनले श्रीमानले धेरै ‘टर्चर’ दिएपछि आफू यो हदसम्म आउनु परेको पनि बताएकी छन् । मोरङको सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आइका र ३ वर्षकी छोरी अर्पणालाई गत शुक्रबार राति विष खुवाएर बेपत्ता भएकी अस्मितालाई मंगलबार दिउँसो साढे ४ बजे प्रहरीले झापाको विर्तामोडबाट फेला पारेको थियो । शनिबार दुई बच्चाको शव फेला परेपछि उनको पनि मृत्यु भएको आशंकामा प्रहरीले नजिकको जंगलमा उनको व्यापक खोजी गरेको थियो । तर, मंगलबार दिउँसो विर्तामोडबाट उनलाई प्रहरीले अस्वस्थ अवस्थामा फेला पारेको थियो ।

फेला परेपछि विराटनगरस्थित कोशी अस्पताल ल्याएर प्रारम्भिक उपचार गरेपछि प्रहरीले उनीसँग बयान लिएको थियो । प्रहरीले आज बुधबार नै उनलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा लिइएको प्रहरी बयानमा उनले भनेकी छन्, ‘मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जंगलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।’ केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए । श्रीमानसँगको घर झगडापछि अस्मिता गत शुक्रबार राति दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । दुवै छोरीको शव शनिबार दिउँसो केराबारीमा फेला परेको थियो । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा उनी र उनका पति अर्जुन कार्की दुई नाबालिका छोरीहरुसँग बस्दै आएका थिए । सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका उनीहरुले नजिकै नयाँ घर पनि बनाइरहेका थिए । इटहरी–भोजपुर ट्याक्सी चलाउने गरेका उनले शुक्रबार साँझ निर्माणाधीन घरमा पानी किन नहालेको भनेर श्रीमती अस्मितालाई गोली गरेका थिए । सोही क्रममा दुई जनाबीच झगडा भएको थियो । त्यसपछि उनी छोरीहरुलाई लिएर राति नै घरबाट निस्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?