पलेशालाई बालेनले गरे ५ लाख रुपैयाँ नगदसहित सम्मान

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

आज काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मानपत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेशाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भने, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

पलेशाका मातापिताको योगदानमा कुरा गर्दै उनले खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनु पर्छ भन्ने सन्देश दिएको उल्लेख गरे ।

सो अवसरमा बोल्दै उपप्रमुख डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा गरिन् । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उनले पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन् ।

डंगोलले जितमा प्रशिक्षकको भूमिका उल्लेखनीय हुने बताउँदै खेलाडीसँगै प्रशिक्षकहरुलाई प्रोत्साहित गर्नु पर्ने बताइन् ।

त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भनिन्, ‘मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यस अघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।’

सम्मान कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदिप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी रहेका थिए ।

पलेशाले गत शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।

पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेका थिए । पेरिस पारालिम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?