निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुनेछ : गृहमन्त्री

लोकपथ
35
Shares

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । आज बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । ‘यो प्रकरण मैले गमभीरताका साथ लिएको छु, यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,’ उनले भने ।

यसैगरी, पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गरिने पनि बताए । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ,’ उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको पनि बताए । ‘दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ,’ गृहमन्त्री लेखकले भने, ‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’
पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठूला दलहरुबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकाले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । ‘दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ,’ उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ, यसमा ढुक्क हुनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?