४० सहकारीमाथि महानगरको अनुगमन, ७ वटालाई थप कारबाही गर्न सीआईबीमा पत्राचार

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन गरेको छ । तीमध्ये सातवटा सहकारी संस्थालाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको महानगरपालिकाले जनाएको छ । महानगरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार १६ चैतदेखि ७ असारसम्म ती सहकारीको अनुगमन गरेको थियो ।

अनुगमनमा परेकामध्ये ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर्फ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै बहुउद्देश्यीय सहकारीमा आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ ।

बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि अनुसन्धान ब्युरोमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुबकुमार काफ्लेले जानकारी दिए।काफ्लेका अनुसार सञ्चालनमा भएका सहकारीहरूमा ‘स्वनियमको पालना,लोकतान्त्रिक नियन्त्रण प्रणाली एकाधिकार, लगानीका क्षेत्र, सिद्धान्तको अनुशरण जस्ता पक्षमा कमजोरी देखिएको छ ।

तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय गरेको थियो ।जसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हस्तान्तरण भएको थियो । हस्तान्तरण हुनुअघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो ।

हस्तान्तरण भएर आएका र नयाँ दर्ता भएका गरी महानगरपालिकाभित्र १ हजार ९२२ वटा सहकारी संस्था महानगरपालिकाको नियमन क्षेत्राधिकारभित्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?