सेवाग्राहीलाई कैलाली प्रहरी कार्यालयमा मोबाइल लिन बन्देज

लोकपथ
77
Shares

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा सेवाग्राहीलाई मोबाइल लिन बन्देज गरिएको छ । काम विशेषले प्रहरी कार्यालयमा जाने सेवाग्राहीलाई कार्यालय परिसरभित्र मोबाइल लिन बन्देज गरिएको हो ।

कार्यालयमा जाने सेवाग्राहीले आफूसँग भएको मोबाइल प्रवेशद्वारमै छोड्नुपर्ने नयाँ नियम लागु गरिएको छ । कैलाली प्रहरी प्रमुखमा एसपी पदमबहादुर विष्ट हाजिर भएपछि सेवाग्राहीको मोबाइल प्रवेशद्वारमै खोस्न सुरु गरिएको हो । सेवाग्राही तथा धनगढीका पत्रकारहरूले उक्त विषयमा असन्तुष्टि जनाएका छन् । तर, जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा मोबाइल दिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छैन् । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो राखेको बताए । उनले भने, ‘पत्रकार साथीहरूले पनि जिल्ला प्रहरीको गेटमा मोबाइल छोड्नु पर्ने रहेछ ।

हामीले एसपीलाई भनेका थियौं । प्रहरीमा दिनुपर्ने प्रमाणहरूसमेत फोनमा हुने हामीले बताएका थियौं । उहाँले गेटमा मोबाइल छोड्नुपर्ने नियम हटाउँछु भन्नु भएको छ ।’ तर प्रहरीले सेवाग्राही तथा सञ्चारकर्मीलाई अझै पनि कार्यालय परिसरभित्र मोबाइल लिन दिएको छैन् । कैलाली प्रहरी प्रमुख एसपी विष्टले महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट तस्बिर तथा भिडियोहरू बाहिरीएकाले कार्यालयमा सेवाग्राहीलाई मोबाइल लिन प्रतिबन्ध गरिएको बताए । नेपाल प्रहरीको हेटक्वाटरको जस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा फोन थुतेर राख्ने गरिएको हो । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी विश्व अधिकारीले सुरक्षाका दृष्टिकोणले संवेदनशील लागेपछि कार्यालय प्रवेश गर्दा सेवाग्राहीबाट प्रहरीले फोन माग्ने गरेको बताए । उनले भने, ‘सुरक्षासँगका विषयहरू संवेदनशील हुन्छ । कतिपयले भित्रको फोटोहरू खिच्ने, बाहिर प्रकाशित गर्ने, सुरक्षाको दृष्टिकोणले फोन राख्ने हो । हामीले पनि फोन हेटक्वाटरभित्र ल्याउन दिँदैनौं । तर, जिल्लामा धेरै कडाइ नगर्नुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?