वर्षमान भन्छन्- ‘कानुन कडा भयो तर जनताबाट पालना हुँदै भएन’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समयमा कानुन कडा भए तापनि त्यसको पालना भने घट्दै गएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै उनले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य नै बनाउनुपर्ने बताए । 

उनले भने, ‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ । त्यसैले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ । एकदमै गम्भीर प्रकारकामा त कम्प्रोमाइज गर्नुहुँदैन ।’

उनले कार्यविधि बनाउन सरकारको पनि समन्वयमा राष्ट्र बैंक आफैँले कार्यविधि  बनाउनुपर्ने धारणा राखे । राष्ट्र बैंकको गर्भनर र टिम सरकारले नै विश्वास गरेको टिम भएको हुँदा सरकारको परामर्श भन्दा बाहिर नगई राष्ट्र बैंक आफैँले कार्यविधि  बनाउनु पर्ने बताएका हुन् । 

उनले भने,‘चेकसँग सम्बन्धित कानुन हो । सरकारले पनि थाहा पाउनुपर्छ समन्वय गर्नुपर्छ । तर राष्ट्र बैंकले कार्यविधि आफै बनाउनु पर्छ । राष्ट्र बैंकको गर्भनर र त्यहाँको टिम भनेको सरकारले नै विश्वास गरेको टिम हो । विज्ञहरु हुन्छन र समन्वय गर्न अर्थ सचिव नै त्यहाँ बस्ने भएकाले सरकारको परामर्श भन्दा बाहिर जाँदैन । सरकार र अर्थ मन्त्रालयसँग सिँधै समन्वयमा नै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?