जग्गाको बैना रकम फिर्ता नगर्न गोली हानी हत्या, १७ वर्षपछि भारतबाट समातिए हत्या आरोपी

भारतमै घरजम गरेर बसेका थिए आरोपित

काठमाडौं । जग्गा किन्न बैना दिएको रकम फिर्ता नगर्न १७ वर्षअघि भएको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले हत्यामा संलग्न व्यक्तिलाई १७ वर्षपछि भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

१७ वर्षअघि पर्साको साविक अमरपट्टी गाविस वडा नम्बर ६ मा ढोडा मुखिया विनको हत्या भएको थियो । २०६४ वैशाख २५ गते राती भएको विनको हत्यामा लक्ष्मण प्रसाद चौरसिया लगायतका चार व्यक्तिको संलग्नता रहेको खुलेको थियो । हत्या लगत्तै केही व्यक्तिहरू पक्राउ परेको भए पनि हत्यामा संलग्न लक्ष्मण प्रसाद चौरसिया भने फरार भएका थिए । भारतको रक्सौलमा बसोबास गरिरहेका चौरसियालाई सिआइबीको टोलीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको हो ।

भएको के थियो ?

पर्साको साविक बहुअर्वा गाविस ६ बस्ने ढोडा मुखिया विनले सोही स्थानको जग्गा खरिद गर्नका लागि प्रबल भन्ने प्रमानन्दप्रसाद चौरसिया बरैलाई बैना रकम दिएका थिए । प्रबलको ६ कट्ठा खेत खरिद गर्नका ७४ हजार भारतीय रुपैयाँमा सहमति भई ६४ हजार भारतीय रुपैयाँ बैना दिएका थिए भने बाँकी १० हजार भारतीय रुपैयाँ पास गर्ने समयमा दिने सहमति भएको थियो । उक्त जग्गा वैशाख २६ गते पास गर्ने कुरा पनि भएको थियो । तर प्रबलले ढोडा मुखिया विनबाहेक धनराज मुखियालाई पनि जग्गा बेच्ने भन्दै बैना रकम लिएका थिए ।

तर जब जग्गाको रजिस्ट्रेसन पास गर्ने कुरा भयो, एउटै जग्गा दुई जनालाई बैना गरिएको रहस्य खुल्यो । त्यसपछि जग्गा किन्ने भनिएका ढोडा र धनराज मुखियाले जग्गा धनी प्रबलसँग विवाद गरे । कसलाई जग्गा दिने हो, त्यसको नाममा पास गरिदिन र जग्गा नदिने व्यक्तिको बैना फिर्ता गर्न दबाब दिइयो ।

जग्गाको बैना फिर्ता गर्न दबाब दिएपछि प्रबलले ढोडा मुखिया विनको बैना फिर्ता गर्ने कुरा गरे । त्यसै विषयमा छलफल गर्न भन्दै ती व्यक्तिले विनलाई छलफलका लागि घरमै बोलाए ।

त्यो दिन थियो २०६४ वैशाख २५ गते । अनि समय थियो, रातको ८ बजे ।

जग्गा किन्न भन्दै दिइएको बैना रकम फिर्ता लिन गएका विन त्यो रात फर्किएनन् । भोलिपल्ट बिहानै पर्साको साविक अमरपट्टी गाविस वडा नम्बर ६ मा विनको शव भेटियो ।

चिउँडो मुनी घाटीको भाग समेतमा पर्ने गरी गोली हानी हत्या गरिएको अवस्थामा विनको शव भेटिएको थियो । शवको अनुसन्धान गर्ने क्रममा होममेड पेस्तोल (कट्टा पेस्तोल)ले दुई राउन्ड गोली प्रहार गरी हत्या गरिएको पाइयो ।

हत्यामा जग्गाधनी प्रबल भन्ने प्रमानन्दप्रसाद चौरसिया, पर्साकै साविक बहुअर्वाभाठा गाविस वडा नम्बर ६ का लोकनाथ साह तेली, सोही स्थानका धनराज मुखिया विन र लक्ष्मण चौरसिया बरै भन्ने लक्ष्मणप्रसाद चौरसिया रहेको खुलेको थियो ।

हत्यामा संलग्नहरूको खोजी गर्ने क्रममा हत्यामा ती जग्गाधनी पर्साको साविक झौवागुठी गाविस वडा नम्बर ६ का प्रबल भन्ने प्रमानन्दप्रसाद चौरसिया बरैको योजनामा पर्साकै साविक बहुअर्वाभाठा गाविस वडा नम्बर ६ का लोकनाथ साह तेली, सोही स्थानका धनराज मुखिया विन र लक्ष्मण चौरसिया बरै भन्ने लक्ष्मणप्रसाद चौरसिया रहेको खुल्यो ।

विनमाथि गोली हान्ने मुख्य सुटर थिए, लक्ष्मण प्रसाद चौरसिया । उनले नै विनमाथि गोली प्रहार गरेको खुलेको थियो । जग्गा बैनाको रकम फिर्ता नगर्ने दूषित मनसायका साथ प्रबलले सुटरको प्रयोग गरी विनको हत्या गरिएको अनुसन्धानमा खुलेको थियो । हत्या लगत्तै जग्गाधनी प्रबल समेतका व्यक्तिहरू फरार भएका थिए । केही समयपछि लोकनाथ साह तेली र धनराज मुखिया विन पक्राउ परे पनि प्रबल भन्ने प्रमानन्दप्रसाद चौरसिया बरै र लक्ष्मणप्रसाद चौरसिया भने फरार भएका थिए । तर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विन हत्याको १७ वर्षपछि भारतको मोतीहारी पुगेर चौरसियालाई पक्राउ गरी नेपाल ल्याएको छ ।

भारतीय नागरिक बनेर बसेका थिए चौरसिया
पर्सामा ढोडा मुखिया विनको हत्या गरेपछि भारत भागेका चौरसिया भारतको मोतिहारीमा लुकिछिपी बस्ने गरेका थिए । चौरसियाले भारतकै आधार कार्ड, रासन कार्ड, प्यान कार्ड लगायतका कागजात बनाएर मोतिहारीमै घर समेत बनाएर बसेका थिए । उनले उतै विवाह समेत गरी बसेको र भारतीय नागरिक सरह बसोबास गरिरहेका थिए ।

पक्राउ परेका प्रतिवादी लक्ष्मण प्रसाद चौरसिया । तस्बिर सौजन्य: सिआइबी

तर नेपालमा व्यक्ति हत्या गरी फरार रहेका व्यक्ति भारतको मोतिहारीमै घर बनाएर बसेको सुराक पाउने बित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोको टोली चौरसियाबारे बुझ्न मोतीहारी पुग्यो । भारतको अर्कै नामबाट बसिरहेका चौरसिया नै ढोडा मुखिया विनको हत्याको सुटर हुन् भन्ने जानकारी पाएपछि नेपाल प्रहरीले चौरसियालाई भारतकै मोतिहारीबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको छ ।

यद्यपि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने चौरसियालाई नेपाल भारत सीमाबाट पक्राउ गरेर नेपाल ल्याइएको बताए । बोगटीले लोकपथसँग भने, ‘चौरसिया भारतमै घर समेत बनाई बस्ने गरेको सत्य हो । हामीले उनको बारेमा भारतमै पुगेर बुझेका पनि हौँ । तर हामीले उनलाई नेपाल भारत सीमाबाट पक्राउ गरेका हौँ ।’

एसपी होबिन्द्र बोगटी, प्रवक्ता, सिआइबी

एसपी बोगटीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो अपराध कबुल गरिसकेका छन् । पक्राउपछि प्रहरीसँगको कुराकानीमा जग्गाधनीले बैनाबापत लिएको रकम फिर्ता गर्नु नपरोस् भनी विनको हत्या गर्न लगाएको र त्यसबापत आफूहरूलाई रकम दिएको स्वीकार गरेका छन् ।

पर्सा जिल्ला अदालतका न्यायाधीश वैद्यनाथ गुप्ताको इजलासले चारै जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए ।

मृतकका भाइ गरीब मुखिया विनले दिएको जाहेरीका आधारमा सुरु पर्सा जिल्ला अदालतले २०६६ असार ३ गते चारै जनालाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सुरुमा दुई प्रतिवादीलाई पर्सा जिल्ला अदालतले तारेखमा राखे पनि पछि पर्सा जिल्ला अदालतका न्यायाधीश वैद्यनाथ गुप्ताको इजलासले चारै जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए ।

पर्सा जिल्ला अदालतको फैसला नमिलेको भन्दै प्रतिवादीहरू उच्च अदालत हेटौँडामा पुनरावेदन गर्न जाँदा उच्च अदालत हेटौँडाका न्यायाधीशद्वय भरतप्रसाद अधिकारी र तेजबहादुर कार्कीको इजलासले २०६६ फागुन २५ गते फैसला सुनाउँदै जनही ८ वर्ष कैद तोकेका थिए ।

तर व्यक्ति नियन्त्रणमा लिई गोली हानी गरिएको हत्यामा ८ वर्ष मात्रै कैद गरिएको नमिलेको भन्दै सरकार पक्ष सर्वोच्च अदालत पुगेको थियो ।

न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतराज उप्रेतीको संयुक्त इजलासले २०६९ कार्तिक २४ गते सर्वस्वसहित जन्मकैद गर्ने सुरु पर्सा जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतराज उप्रेतीको संयुक्त इजलासले २०६९ कार्तिक २४ गते उच्च अदालत हेटौँडाको फैसला केही उल्टी गर्दै सर्वस्वसहित जन्मकैद गर्ने सुरु पर्सा जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।

त्यसपछि सबै प्रतिवादीहरू फरार रहेकामा लक्ष्मणप्रसाद चौरसियालाई भने सिआइबीले भारतको मोतिहारी पुगेर पक्राउ गरी नेपाल ल्याएको छ । चौरसियालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको सिआइबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?