तीजको शुभकामना दिँदै राष्ट्रपति पौडेलले के भने ?

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका तीज पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।

तीजको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरितीको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरे ।

‘नेपाली हिन्दू महिलाहरूको महान् चाड तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?