बाइडेनको छोराले स्वीकार गरे कर छलीको आरोप, कति वर्ष हुनसक्छ जेल सजाय ?

लोकपथ
105
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छलीको ९ अभियोगमा आफूलाई दोषी स्वीकार गरेका छन् । उनले जानाजानी आफूले कर छलेको पनि बिहीबार स्वीकार गरेका छन् ।

५४ वर्षीय हन्टर बाइडेनमाथि जानाजानी १४ मिलियन डलरको कर नतिरेको आरोप छ । सन् २०१६ र २०१९ को बीचमा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

बिहीबार उनीविरुद्धको कर छलीको मुद्दालाई लिएर जुरी चयन गर्न लागिएको थियो । तर अन्तिम समयमा उनले आफ्नो निर्णय परिवर्तन गरेका हुन् ।

बीबीसीका अनुसार राष्ट्रपति पुत्र हन्टरले आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सामना गर्न चाहेको भएपनि अभियोजकहरूको आपत्तिपछि ‘दोष स्वीकार गर्न राजी’ भएका थिए । त्यसो त तीन महिनाअघि पनि उनी बन्दुक राख्ने र लागूऔषध प्रयोगका छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएका थिए ।

न्यायाधीश मार्क स्कार्सीका अनुसार, हन्टर बाइडेनले दोष स्वीकार गरेकाले उनलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र ५ देखि १० लाख डलरसम्म जरिवाना हुने छ । उनको सजायबारेको निर्णय राष्ट्रपतिको चुनाव सकिएको एक महिनापछि डिसेम्बर १६ मा लिइने भएको छ । यो मितिमा उनका बाबु जो बाइडेन भने राष्ट्रपतिबाट अलग भइसकेका हुनेछन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

राष्ट्रपति बाइडेनले यसअघि नै आफ्ना छोरालाई माफी दिलाउन आफ्नो शक्ति प्रयोग नगर्ने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?