वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग पर्यटनमन्त्री असन्तुष्ट, पहिलो स्पष्टीकरण नबुझाउँदै हटाउने खेल सुरु

लोकपथ
105
Shares

काठमाडौं । पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी तीव्र पारेका छन् । मन्त्री पाण्डेले पहिले सोधिएको स्पष्टीकरण बुझाउने म्याद बाँकी छँदै अधिकारीलाई हटाउन ‘कार्यक्षमताको अभाव भएको’ भनी दोस्रो पत्र पठाइएको पाइएको छ ।

भदौ १२ गतेपछि मात्रै निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई ३ वटा पत्र पठाएर जवाफ माग गरिएको छ । दुई वटा पत्र स्पष्टीकरणको शैलीमा छ भने एउटा पत्र जानकारी माग गरिएको भनिएको छ ।

पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले गत भदौ १२ गते एक साताको समय दिएर नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग ११ बुँदे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण बुझाउने म्याद भदौ १९ गतेसम्म रहेको भए पनि मन्त्री पाण्डेले त्यसभन्दा अगाडि नै अर्को स्पष्टीकरण समेत सोधेको पाइएको छ ।

मन्त्री पाण्डेले भदौ १२ गते सोधेको स्पष्टीकरणमा किन दुइवटै वाइडबढी एकै पटक सी चेकमा पठाएको, सी चेक गराउने कम्पनी छनोट (एमआरओ) छनोट गर्दा किन स्वच्छ प्रतिस्पर्धा नगराएको, भिसा अवधि थोरै भएका प्राविधिकलाई सी चेकका लागि पठाएर पछि फेरि किन अर्को टोली पठाएको, चाडबाडको नजिक किन सी चेकमा पठाएको, समयमै उडान नगरी किन जरिवाना तिर्नुपर्ने बनाएको, दुबईबाट २ करोड रुपैयाँ ह्याकरले किन र कसरी लगेको, चल अचल सम्पत्तिको संरक्षण किन नगरेको, निगम किन नाफामा नलगेको, अष्ट्रेलियामा उडान नहुँदै किन कर्मचारी भर्ना गरेको र आन्तरिक उडानको हिस्सा शून्य दशमलव ३ प्रतिशत मात्रै हुनुको कारण सोधेको थियो ।

मन्त्री पाण्डेले सोधेका ११ बुँदे स्पष्टीकरणको जवाफ दिने म्याद बाँकी छँदै सोही अवधिमा मन्त्री पाण्डेले ‘तपाईँले कार्यकारी अध्यक्षको हैसियतले आफ्नो जिम्मेवारी र दायित्व पूरा नगरी चरम लापरबाही र बदनियत देखिने गरी कार्यसम्पादन गरेको र निगम जस्तो ठुलो महत्त्वपूर्ण एवम् संवेदनशील संस्थाको नेतृत्वमा हुनुपर्ने कार्यदक्षताको गम्भीर कमजोरी देखिएको’ भन्दै थप पत्र थमाएको पाइएको छ ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे

जबकि कार्यक्षमताको अभाव भएको हो कि होइन, बदनियत राखिएको हो कि होइन भन्ने विषय निगम सञ्चालक समिति र अनुसन्धानबाट थाहा हुने र दोषी देखिए कारबाहीको प्रक्रिया सुरु हुनुपर्नेमा स्पष्टीकरण पेस नहुँदै अर्को पत्र थमाएको पाइएको हो ।

पहिलो स्पष्टीकरणको जवाफ पेस नहुँदै कारबाही गर्ने हेतुको अर्को पत्र थमाउनुले मन्त्री पाण्डे अधिकारीलाई हटाएर चाँडै नै अर्को कार्यकारी अध्यक्ष नियुक्त गर्ने दौडमा रहेको बुझिएको छ ।

हुन त कार्यकारी अध्यक्ष अधिकारीलाई यसअघिका चार मन्त्रीले डेढ दर्जनभन्दा बढी पटक स्पष्टीकरण सोधिसकेका छन् । २०७९ साल जेठमा त अधिकारीलाई तत्कालीन मन्त्रीपरिषद्ले बर्खास्तसमेत गरेको थियो । तर अधिकारी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएपछि अदालतले अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि उनी पुनः काममै फर्किएका थिए ।

युवराज अधिकारी, कार्यकारी अध्यक्ष, नेपाल वायुसेवा निगम

अधिकारी निगमको कार्यकारी अध्यक्षमा आएपछि चार जना पर्यटन मन्त्री फेरिइसकेका छन् । उनीहरू कसैसँग पनि अधिकारीको सम्बन्ध राम्रो थिएन । उनीहरू सबैसँग तिक्ततापूर्ण सम्बन्ध रहेको भए पनि अधिकारी निगममा कार्यकारी अध्यक्षका हैसियतले काम गरिरहेका थिए ।

यद्यपि केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भई मन्त्रिमण्डल परिवर्तन भएपछि पर्यटन मन्त्री बनेका पाण्डे भने अधिकारीलाई हटाएर आफू अनुकूलका व्यक्तिलाई निगमको अध्यक्ष बनाउन चाहन्छन् । त्यसैका लागि पाण्डेले होमवर्क सुरु गरिसकेका छन् र अध्यक्ष अधिकारीलाई हटाउन पहिलो स्पष्टीकरण प्राप्त नहुँदै ‘असक्षम’ भनी हटाउने तयारी सुरु गरेका छन् ।

अध्यक्ष अधिकारीले बुझाए २९ पृष्ठको स्पष्टीकरण
यता नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भदौ १९ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण पेस गरेका छन् । २९ पृष्ठ लामो स्पष्टीकरणमा ११ बुँदामा सोधिएका प्रश्नहरूको विस्तृत जवाफ लेखेका छन् । अधिकारीले २९ पृष्ठ लामो स्पष्टीकरणसँगै करिब १ हजार १ सय पृष्ठको अन्य कागजात पनि पेस गरेका छन् ।

अधिकारीको स्पष्टीकरणमा ११ बुँदे स्पष्टीकरणको क्रमैसँग जवाफ दिइएको छ र के काम किन र कसरी भयो भन्ने सम्बन्धमा बिस्तारमा उल्लेख गरेका छन् ।

पर्यटन मन्त्रालय श्रोतले लोकपथलाई दिएको जानकारी अनुसार अध्यक्ष अधिकारीले मुख्यतः दुई वटै वाइडबढी किन एकै पटक सी चेकका लागि पठाएको, एमआरओ छनोटमा किन बढी प्रतिस्पर्धा नगराएको र निगमलाई किन नाफामा नलगेको भन्ने प्रश्नमा बढी केन्द्रित रहेर जवाफ पेस गरेका छन् ।

स्पष्टीकरणमा अधिकारीले दुई वटै विमान एक महिनाको फरकमा खरिद गरिएको र प्रत्येक ६ वर्षमा थ्री सी चेक गर्नै पर्ने भएकाले एक महिनाको फरकमा पठाउनु परेको उल्लेख गरेका छन् । पहिले पठाएको विमानमा थप समस्या देखिएको कारण समयमै पार्टपुर्जा प्राप्त हुन नसकेकाले दुई महिनाभन्दा बढी समय लागेको र अबको केही दिनमै मर्मत पूरा भई नेपाल आइपुग्ने बताएका छन् ।

अधिकारीले आफ्नो स्पष्टीकरणमा सी चेक गर्ने वा इन्जिन ओभरहल गर्ने कम्पनी छनोट गर्दा बोलपत्र आव्हान गरी खुला प्रतिस्पर्धाबाट नै छनोट गरिएको र त्यहाँ सबै काम पारदर्शी नै भएको उल्लेख गरेका छन् ।

त्यसै गरी निगम नाफामा लैजान नसक्नुका कारणमा निगमले तिर्नुपर्ने चर्को ब्याज, नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको ग्राउन्ड ह्याडलिङसम्बन्धी व्यवस्थामा परिवर्तन, प्राधिकरणले बाध्यकारी रूपमा भैरहवामा उडान गर्न दिएको निर्देशनले बढी नाफा हुने दिल्लीमा उडान भर्न नसक्नु लगायतका कारण रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?