वायुसेवा निगमका कार्यकारी अध्यक्ष भन्छन्- ‘आम्दानी जति ब्याजमै जान्छ, अनि कसरी हुन्छ नाफा ?’

सस्तो ब्याजमा ऋण लिएर महँगो ब्याज तिर्ने योजना

लोकपथ
70
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आम्दानीको ठुलो हिस्सा ऋणको ब्याजमै खर्च हुने भएकाले नाफा कमाउन नसकिएको बताएका छन् । मन्त्रालयले सोधेको ११ बुँदे स्पष्टीकरणको जवाफ दिँदै अधिकारीले महँगो ब्याजको ऋण कायम रहेसम्म नाफा कमाउन मुस्किल हुने बताएका हुन् ।

गत भदौ १२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोधेको ११ बुँदे स्पष्टीकरण पत्रमा भदौ १९ गते जवाफ पेस गर्दै अध्यक्ष अधिकारीले निगमले आम्दानीको ठुलो हिस्सा महँगो ब्याजमा खर्च गर्नुपरेका कारण आशातीत नाफा कमाउन नसकेको बताएका हुन् ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउने तयारीका साथ पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ८ दिनको फरकमा तीन वटा स्पष्टीकरण सोधेका छन् । भदौ १२ गते ११ बुँदे स्पष्टीकरण सोधेका पाण्डेले त्यसको जवाफ प्राप्त नहुँदै अधिकारी असक्षम रहेको आशयको अर्को पत्र पठाएका छन् । त्यसै गरी भदौ २० गते मात्रै अधिकारीलाई बोलाइएको बैठकमा किन उपस्थित नभएको भनी अर्को स्पष्टीकरण सोधेको छ ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे

यसैबिच लोकपथलाई मन्त्रालय स्रोतबाट प्राप्त भएको स्पष्टीकरणको जवाफमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगम नाफामा जान नसक्नुको एक कारण महँगो ब्याजसमेत रहेको उल्लेख गरेका छन् । चार वटा मात्रै विमान हुँदा नियमित उडान गर्न नसकिएको तथा जहाज किन्ने समयमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ब्याज १० दशमलव ५० प्रतिशतको ब्याज महँगो भएकाले पनि नाफा कमाउन नसकिएको उल्लेख छ ।

कार्यकारी अध्यक्ष अधिकारीले आयटाले ६ डिसेम्बर २०२३ मा जारी गरेको प्रेस विज्ञप्तिमा सन् २०२४ मा समग्र वायुसेवा कम्पनीहरूले २ दशमलव ७ प्रतिशत खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको कुरा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय उड्डयनको नियमन गर्ने संस्थाले २ दशमलव ७ प्रतिशत नाफाको आङ्कलन गरेको अवस्थामा चार वटा मात्रै विमान भएको नेपाली कम्पनीले धेरै नाफा खोज्नु असम्भव रहेको उल्लेख गरेका छन् ।

युवराज अधिकारी, कार्यकारी अध्यक्ष, नेपाल वायुसेवा निगम

स्पष्टीकरणमा सोधिएको निगम किन घाटामा भन्ने प्रश्नको बुँदा नम्बर ख मा अधिकारीले महँगो ब्याजको ऋण भारबारे उल्लेख गरेका छन् ।

स्पष्टीकरणमा भनिएको छ, ‘निगमले दुई वटा न्यारोबडी एयरबस ए३२० र दुई वटा वाइडबडी ए३३० खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १०% देखि ११% सम्मको ब्याजमा कर्जा लिएको थियो । निगम मात्र होइन संसारमा कुनै पनि एयरलाइन्स ११% खुद नाफामा हुँदैन ।’ अधिकारीको स्पष्टीकरणमा आयटाले जारी गरेको प्रेस विज्ञप्तिको कुरासमेत उल्लेख गरिएको छ ।

सस्तो ऋण लिएर महँगो ऋण तिर्ने निगमको तयारी
अध्यक्ष अधिकारीले महँगो ऋणको भारले नाफामा कसरी असर गर्छ भन्दै सस्तो ब्याजदरको ऋण लिएर महँगो ब्याजदरको ऋण तिर्ने तयारीसमेत भएको उल्लेख गरेका छन् । ‘वायुसेवाहरूको नाफाको सन्दर्भमा आयटाले जारी गरेको जानकारी’ भन्दै स्पष्टीकरणमा उनले अगाडि लेखेका छन्,

आयटाले ६ डिसेम्बर २०२३ मा जारी गरेको प्रेस विज्ञप्ति अनुसार सन् २०२४ मा समग्र वायुसेवा कम्पनीहरूले २.७ प्रतिशत खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपणको प्रतिलिपि यसैसाथ अनुसूची ३.५ मा संलग्न गरिएको छ । यसबाट पनि प्रस्ट हुन्छ की वायुसेवा कम्पनीहरूले ११% मा ऋण लिएर नाफामा जाने सम्भावना अत्यन्तै न्यून हुन्छ ।

‘आयटाले ६ डिसेम्बर २०२३ मा जारी गरेको प्रेस विज्ञप्ति अनुसार सन् २०२४ मा समग्र वायुसेवा कम्पनीहरूले २.७ प्रतिशत खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपणको प्रतिलिपि यसैसाथ अनुसूची ३.५ मा संलग्न गरिएको छ । यसबाट पनि प्रस्ट हुन्छ की वायुसेवा कम्पनीहरूले ११% मा ऋण लिएर नाफामा जाने सम्भावना अत्यन्तै न्यून हुन्छ । कोभिड १९ को विश्वव्यापी महामारीले थलिएको विश्व पर्यटन बल्ल तङ्ग्रिन लाग्दाको अवस्थामा निगमको वर्तमान व्यवस्थापनले ग्लोबल टेन्डर मार्फत २ देखि ३ प्रतिशत अथवा अझ सस्तोमा सफ्ट लोन लिएर यो महँगो ब्याजदरको ऋण भुक्तानी गर्नुपर्ने लक्ष्यका साथ काम गरी रहेको छ । यो अत्यन्तै उपयुक्त विकल्प पनि हो ।’

त्यसै गरी निगम घाटामा जानुको अन्य कारणहरूमा अध्यक्ष अधिकारीले जहाजको सङ्ख्या कम रहनु पनि भएको उल्लेख गरेका छन् ।

अधिकारीले आफ्नो स्पष्टीकरणमा भनेका छन्, ‘राष्ट्रिय ध्वजावाहकको जहाजहरू अन्तर्राष्ट्रिय उडानमा ४ वटा मात्र हुनु र आन्तरिक तर्फ उडान योग्य रहेका ४० वर्ष भन्दा पुराना २ वटा ट्वीन अटरहरु मात्र हुनु र मर्मत सम्भारका कामहरू अत्यन्त प्राविधिक प्रकृतिका हुने भएको तथा प्राविधिक कारणले जहाजहरू ग्राउन्डेड भूमिस्थ पनि हुने भएकाले प्रक्षेपित आम्दानी हुन सकिरहेको छैन । निगमले नयाँ जहाज थप्ने योजना अनुरूप कार्य थालिसकेको छ । नयाँ जहाजहरू थप्नलाई नेपाल सरकारले नै उपयुक्त सहयोग गरेर निगमलाई सुदृढ गर्नुपर्दछ ।’

यसरी निगमलाई किन नाफामा चलाउन नसकेको भन्ने पर्यटन मन्त्रालयको स्पष्टीकरणको जवाफमा कार्यकारी अध्यक्षले चिनियाँ विमानको आयात, भैरहवामा उडान गर्नै पर्ने क्यानको बाध्यकारी निर्देशनका कारण दिल्ली उडान कटौती गर्नुपर्दा भएको घाटा लगायतका विषय पनि उल्लेख गरेका छन् ।

यो पनि

वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग पर्यटनमन्त्री असन्तुष्ट, पहिलो स्पष्टीकरण नबुझाउँदै हटाउने खेल सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?