फेसबुकले नै हटाएको बालेनको पोस्ट पुनः फिर्ता

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकले नै हटाएको भनिएको पोस्ट पुनः फिर्ता आएको छ ।

४ दिन अघि मेयर बालेनले एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले बालश्रम शोषण गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरेका थिए । उच्च अदालत पाटनले शर्मामाथि अनुसन्धान गर्न आदेश दिए पनि प्रधानमन्त्री ओलीले कारबाहीका लागि रोकेको आरोप लगाएर सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका थिए ।

एमाले नेता कार्यकर्ताहरुले उक्त पोस्टमा व्यापक रिपोर्ट गरेपछि फेसबुकले कम्युनिटी गाइडलाइन विपरित भएको भन्दै पोस्ट हटाएको थियो । त्यसपछि मेयर बालेनले पुनः सरकारले नै आफ्नो पोस्ट हटाएको भनेर आरोप लगाएका थिए ।

तर शुक्रबार भने उनको उक्त पोस्ट पुनः फिर्ता आएको छ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एमाले समर्थक र मेयर बालेन समर्थकबीच चर्को जुहारी परिरहेको छ । दुई पक्षबीच फेसबुकमा युद्ध चल्दा मेयर बालेनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा अनफलो अभियान नै चलाएका थिए ।

मेयर बालेनले फेसबुकले नै हटाएको भनिएको पोस्टमा लेखेका थिए, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?