सप्तरीको तिरहुत गापाको प्रशासकीय अधिकृतको सरुवाले दिक्क जनप्रतिनिधि, गुहारे केन्द्र सरकार

लोकपथ
98
Shares

काठमाडौं । सप्तरीको तिरहुत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको श्रृंखला नै चलेको पाइएको छ ।

छोटो समयमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको भन्दै गाउँपालिकाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म गुहारेका छन् ।

राजनीतिक दबाब र प्रभावका आधारमा कर्मचारीको सरुवा हुँदा कार्यपालिकाको काम नै प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्ष विजयकुमार यादव र उपाध्यक्ष विष्णुदेवी यादवले केन्द्र सरकार गुहारेका हुन् ।

गत साउन ३२ गते हालका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवको पनि सरुवा गर्न लागिएको भन्दै अध्यक्ष र उपाध्यक्षले प्रधानमन्त्री, मन्त्री, मुख्यसचिवदेखि मधेश प्रदेश सरकारसम्मको ध्यानाकर्षण गराउँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयलाई पत्र पठाएका हुन् ।

गत स्थानीय तहको निर्वाचनपछि बनेको नयाँ गाउँपालिका सरकारले कार्यभार सम्हाल्दा त्यहाँको प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंह कार्यरत रहेका थिए । उनलाई २०७९ साल भदौ १० गते सरुवा गरिएको थियो । त्यसपछि विजयकुमार मण्डल त्यहाँको प्रमुख प्रशासकीय अधिकृत भइ गएका थिए । तर छोटो समयमा नै उनको समेत सरुवा भएको गाउँपालिका अध्यक्ष विजयकुमार यादवले जानकारी दिए । त्यसपछि त्यहाँको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कुन्दन कुमार कर्ण हाजिर भएका थिए । उनी त्यहाँ २०८० साल वैशाख १ गते हाजिर भएका थिए । तर उनको पनि १० महिनाको अवधिमा नै सरुवा गरियो । त्यसपछि २०८० साल माघ १६ गते पुनः त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गोसाई यादव हाजिर भए ।

त्यसपछि पुनः ३ महिनामा नै उनको पनि सरुवा गरियो । २०८१ साल वैशाख ७ गते ललन कुमार यादव त्यहाँको प्रमुख प्रशासकीय अधिृकतका रुपमा हाजिर भए । उनी हालसम्म त्यहाँ कार्यरत रहेका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको पनि सरुवा गर्ने तयारी गरेको जानकारी प्राप्त भएपश्चात गाउँपालिकाले केन्द्र सरकार गुहारेको हो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा ललन पुगेपछि ४ महिना नबित्दै उनको समेत सरुवा गरिएपछि आफूहरु मन्त्रीलाई भेटेर त्यसको बारेमा जानकारी गराएको लोकपथलाई जानकारी दिए ।

ललन गएपछि गाउँपालिकाको काम प्रभावकारी भएको र त्यहाँका जनप्रतिनिधि, कर्मचारी मात्र नभएर त्यहाँका जनता समेतले उनको कामको राम्रो मूल्यांकन गरेका पत्रमा उल्लेख छ ।

‘…निजको (ललनकुमार यादव) हालसम्मको कार्यकाल अत्यन्त सन्तोषजनक देखिएको र निजको कामकाजबाट हामी जनप्रतिनिधि, कर्मचारी मात्र नभई आम जनता समेतमा राम्रो प्रभाव परेको देखिन्छ । निजको कार्यकालमा आम जनताको कामकाज तथा विकास निर्माणको कामकाज समेत सकारात्मक प्रभाव परेको देखिन्छ । यसरी छोटो अवधिमै पटकपटक प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा हुनु र हालको प्रमुख प्रशासकीय अधिकृत श्री ललनकुमार यादवको समेत ४ महिना नबित्दै सरुवा भएको विषयको सन्दर्भमा विभिन्न माध्यमबाट थाहा हुन आएको हुँदा यस कार्यपालिकाबाट घोर असन्तुष्टि प्रकट गर्दछौँ,’ मन्त्रालयलाई पठाइएको पत्रमा भनिएको छ ।

गाउँपालिका अध्यक्ष यादवले ललनको समेत सरुवा हुने कुरा जानकारीमा आए पनि अहिलेसम्म सरुवा नभएको लोकपथलाई जानकारी दिए । साथै आफू केही दिनमा काठमाडौं आएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेटेर त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउने लोकपथसँगको कुराकानीमा बताए ।

‘उहाँलाई समेत सरुवा गर्न लागिएपछि हामीले यसअघि नै मन्त्रीलाई पत्र र एकपटक भेटेरै जानकारी गराएका छौँ,’ उनले लोकपथसँग भने, ‘प्रमुख प्रशासकीय अधिकृतको सरुवा महिनामहिनामा हुँदा काम गर्न समेत असहज भइरहेको हुँदा केही दिनमा काठमाडौं गएर मन्त्रीसँग कुरा गर्ने तयारी गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?