घनश्यामको आरोप : नेपालमा समाजवादको भाष्य केपी ओलीले बिगारे

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको भाष्य बिगारिदिएको आरोप लगाएका छन् ।

शनिबार हरि रोक्काद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तकको विमोचन कार्यक्रममा प्रज्ञा भवनको डबलीमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले विश्वका अन्य देशको समाजवादको यात्राबारे बयान गर्दै नेपालको समाजवादको भाष्य बिग्रनुमा वर्तमान प्रधानमन्त्री ओलीको हात रहेको जिकिर गरे ।

ओलीले रेल, पानी जहाज र भ्यूटावर जस्ता विषय ल्याएर समाजवादको भाष्य बिगारेको आरोप लगाए ।

‘हाम्रो समाजवादको भाष्यलाई सबैभन्दा बढी ओलीले नै बिगार्दिनुभयो । चुच्चे रेल आउँछ, यो काठमाडौंमा २ वर्षमा आउँछ, अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ… भनेर चुच्चे रेलसँग, टावरहरुसँग, के सँग के सँग भनेर भाष्य बिगार्दिनुभयो उहाँले,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्रीको रुपमा ओलीले जनतालाई मिस लिड गरिरहेको आरोप लगाए । शिक्षकको उदाहरण दिँदै प्रधानमन्त्रीले देशका लाखौँ जनतालाई एकैपटक पढाउने भए पनि ओलीले गलत सूचना जनतामा प्रवाह गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री भनेको मुलुकको सबैभन्दा ठुलो शिक्षक हो । शिक्षकले ४० जना पढाउँछ, ५० जना पढाउँछ, ६० जना पढाउँछ तर प्रधानमन्त्रीले देशको लाखौँ मान्छेहरुलाई एकसाथ क्लास लिन्छ । उहाँले कसरी बिगार्दिनुभयो भाष्य भन्दा, उहाँको मैले पटकपटक सुनेको छु, रोपे फलिहाल्छ नि भन्नुहुन्थ्यो के,’ भुसालले भने ।

देशमा समाजवाद निर्माणका लागि राम्रो नेता र पार्टीको खाँचो रहेको बताए । घुस नखाने नेता नभएसम्म देश नबन्ने बताए उनले ठुला पार्टीहरुकाबीचमा भ्रष्टचारी जोगाउन सर्वदलीय सहमती हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?