जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान मानबहादुर चलाउनको शव फेला परेको छ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार, बेपत्ता वडासदस्य दम्पतीको शव आज बिहान साढे १० बजे फेला परेको हो । गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।
पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको भने उद्धार भएको छ । उद्धारपश्चात् आज बिहान १० बजे उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ ।
यस्तै सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया