गर्भिणी गाई काटेको अभियोगमा ४ जना पक्राउ

लोकपथ
525
Shares

झापा । झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो न ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो न ए३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो न ए२–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ वर्षकी गिता श्रेष्ठ पक्राउ परेका छन् ।

भदौ १८ गते राति उनीहरुले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेको र गाईको खुट्टा तथा गर्धनको मासु, रगत उनीहरुले लगि शरीरको अन्य भाग भने घटनास्थलमा नै छोडेकाे प्रहरीले जनाएको छ । 

यसको साथै उनीहरुको साथबाट प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान पनि बरामद गरेकाे छ ।

पक्राउ परेकामध्ये दुलालले पटक–पटक जबरजस्ती करणी तथा पशुपक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ । 

गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्काे दबाब परेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?