काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । महिलाको शव फेला परेको दुई दिनपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम रहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, सुन्दरीजलस्थित ढुंगाको चेपभित्र मृत अवस्थामा फेला परेकी ती महिला सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ । उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् । प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको छ ।
एसपी अधिकारीले भने, ‘सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन् ।’ उनले हालसम्म मृत भेटिएकी महिलाको परिवार तथा आफन्त सम्पर्कमा नआएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया