काठमाडौं । विपदबारे सूचना आदान प्रदान गर्न सकिने नयाँ प्रविधिको परीक्षण धादिङका तीन स्थानीय तहमा सुरु गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका, बैरेनी र बेनीघाट रोराङ गाउँपालिकामा थाइल्याण्डमा रहेको एसियन इन्स्टिच्युड अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजीत पलले प्रतिपादन गरेको विपदको सूचना आदान प्रदान गर्ने क्रिस्टा एपको परीक्षण सुरु गरिएको हो ।
विपद जोखिम न्यूनीकरण सञ्चार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा त्यस प्रविधि लागू गर्ने परियोजनाकी कार्यक्रम अधिकृत युरिसा उपाध्यायले विपदबाट हुने क्षति न्यूनीकरण गर्न आफूहरुले लागू गर्न लागेको प्रविधिले ठूलो सहयोग गर्ने दावी गरे । क्रिस्टा एपको प्रयोग गरेर विपद्को सूचना जुनसुकै व्यक्तिले सम्बन्धित निकायमा दिन सक्ने र सम्बन्धित निकायले त्यसैका आधारमा प्रतिकार्य वा उद्धारका कार्य प्रभावकारी रुपमा सम्पादन गर्न सक्ने उनको भनाइ छ ।
उनका अनुसार यो प्रविधिको प्रयोग गर्न सम्बन्धित निकाय/स्थानीय प्रहरी कार्यालय वा पालिकाको कार्यालय) मा सामान्य सूचना प्रणाली जडान गरिन्छ । त्यसपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न लगाइन्छ । त्यसपछि सम्बन्धित क्षेत्रमा कुनै पनि विपदका घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो र अक्षरमा एप मार्फत् जानकारी गराउन सक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरु पठाउने बित्तिकै उद्धार टोली रहेको ठाउँमा आपतकालीन संकेत जान्छ । त्यही सूचना, संकेत, फोटो र विवरणहरुका आधारमा उद्धार सामग्रीहरुसहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ । फोटो वा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरु एकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारिता हुने उपाध्यायको भनाइ छ ।
यो प्रविधिको प्रयोग गर्दा स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरुले विवरण पठाउन सजिलो हुने, प्राप्तकर्तालाई घटनाको वस्तुस्थिति बढी थाहा हुने, विवरणहरु विश्वसनीय हुने, विवरणहरुको परीक्षण गर्न सजिलो हुने, सूचनादाताले पठाएको फोटो वा विवरणका आधारमा जिपिएस मार्फत घटनास्थल पनि सजिलै एकिन हुने, घटनास्थलको फोटो र विवरणका आधारमा उद्धार सामग्रीहरुको आवश्यकता पहिचान गर्न सजिलो हुने सुरेन्द्र पाण्डेले बताए । यसले सूचना आदान प्रदानलाई प्रभावकारी बनाउनुका साथै तत्काल उद्धार कार्यमा जान पनि मार्गदर्शन गर्ने जीवन भण्डारीले बताए ।
उद्धार कार्यमा चाँडो जान र उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्गदशन गर्ने भएकाले यसबाट क्षति न्यूनीकरणमा पनि ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । यो प्रविधिबाट कुन कुन ठाउँमा विपद्का घटना भएका छन् भनेर हेर्न मिल्ने र त्यही अनुसार आफूले सतर्कता अपनाउन सकिने भएकाले पनि यो निकै उपयोगी हुने उहाँको ठहर छ । विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले लामो अनुसन्धानपछि तयार पारेको क्रिस्टा प्रविधिलाई जनधनको क्षति न्यूनीकरण गर्न सहयोगी हुने मूल्यांकनसहित विश्व बैंकले समेत पुरस्कृत गरेको छ । अन्य धेरै अन्तर्राष्ट्रिय निकायहरुले पनि यसलाई नयाँ अवधारणा र नवप्रवर्तनको रुपमा मान्यता दिएर अवलम्बन गर्न प्रोत्साहित गरेको कार्यक्रम अधिकृत उपाध्यायले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया