काठमाडौं । नेपाली सेनाको कमाण्ड आज सोमबार (२४ भदौ) देखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् ।
उनलाई आज राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् ।
निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको उत्तराधिकारीका रुपमा सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् । राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए । शर्मा २४ साउनदेखि बिदामा बसेका थिए ।
३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् ।
आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन् ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।
३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्ने सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाएका छन् । उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया